पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका– १, मिलनचोकनिवासी रामहरि पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो । विगतमा वर्षौँसम्म चिनी उद्योगहरूले भुक्तानी नगर्दा हैरानी खेप्दै आएका उनीजस्ता किसानले यसपटक समयमै भुक्तानी पाएका छन् । 

विगतमा राज्यले समयमा उखुको समर्थन मूल्य नतोक्ने र उद्योगीले वर्षौँसम्म पनि भुक्तानी नदिने समस्याबाट किसान हैरान हुनुपरिरहेको थियो । तर, यस वर्ष उखु क्रसिङ पहिला नै समर्थन मूल्य तय भएको र उद्योगीले पनि उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी दिन थालेपछि किसानलाई उखुखेती फेरि नगदेबाली हो भन्ने लाग्न थालेको पाण्डेले बताए ।

पाण्डेले यस वर्ष चार बिघामा उखु लगाएका छन् । पहिलोपल्ट उनले गत मंसिर २७ गते उद्योगमा उखु बेचेका थिए । इन्दुशंकर चिनी उद्योगको मिलगेट क्षेत्रका उखु किसान पाण्डेले हप्ता दिनमै बैंकमा पैसा जम्मा भएको घन्टी बजेपछि खुसीले गदगद भए । ‘अब बल्ल उखु नगदेबाली हो भन्ने लागेको छ,’ उनले भने, ‘किनकि यो वर्ष उखुको पैसा हाताहाती जस्तै आइरहेको छ ।’

सुरुमा उखुखेती गर्दा मूल्य र भुक्तानी के हुने हो भनेर चिन्ताले पाण्डेलाई नसताएको होइन । तर, यस वर्ष उखु बिक्री गरेर समयमै भुक्तानी पाएपछि उखुखेतीप्रति आकर्षण बढेको पाण्डेले बताए । उखुको समर्थन मूल्यमा राज्यले किसानको लगानी र चिनीको मूल्यलाई आधार बनाएर तोक्ने र उद्योगले किसानको भुक्तानी व्यवस्थित गर्ने हो भने किसानहरू उत्साहित भएर उखुखेती गर्न तयार रहेको उनी बताउँछन् । 

हरिवन नगरपालिका– ३, का गोपी तिमल्सिनाको पनि अनुभव उस्तै छ । विगतका वर्षमा झैँ अब किसानले गुलियो उखु लगाएर अमिलो अनुभव गर्न नपरोस् भन्ने उनी कामना गर्छन् । हरिवनको इन्दुशंकर चिनी उद्योगमा उखु बेचेको पैसा हप्ता दिनमा आफ्नो खातामा आएको उनले बताए । राज्यले समेत अनुदानबापतको रकम किसानको खातामा जम्मा गरिदिनुपर्ने उनको धारणा छ ।

‘विगतका वर्षमा जस्तो अनुदानको रकममा किसानलाई दुःख पाउनुहुँदैन,’ उनले भने, ‘समयमै भुक्तानी सुरु गर्नुपर्छ, अनि मात्र फेरि उखु नगदेबाली बन्छ । किसान पनि खेती गर्न उत्साहित हुन्छन् ।’ यस वर्षबाट हप्ता दिनमै किसानको खातामा पैसा जम्मा गर्न थालेपछि किसानहरू उत्साहित बनेका हुन् । 

यस उद्योगले यस वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक योगनारायण रजकले जानकारी दिए । किसानहरूसँग एक महिनाभित्र भुक्तानीको सहमत भए पनि उद्योगले एक हप्ताभित्रै भुक्तानी गरिरहेको उनको भनाइ छ । महाप्रबन्धक रजकका अनुसार उद्योगले पुस २० गतेसम्म किसानबाट ६ लाख १७ हजार दुई सय क्विन्टल उखु खरिद गरी क्रसिङ गरिएकामा यही पुस १७ गतेसम्मको उखुको रु. २८ करोड भुक्तानी गरिसकेको छ । 

गत मंसिर २७ गतेदेखि सञ्चालनमा आएको उद्योगले यो तेस्रोपटक किसानको खातामा रकम जम्मा गरेको हो । यस उद्योगले उखु उत्पादन बढाउनका लागि उन्नत जातको बिउ, मल, विषादीको प्रयोगको साथै तालिम, गोष्ठी तथा किसानहरूलाई प्राविधिक सेवासमेत अभियानकै रूपमा प्रदान गरिरहेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले बताए । किसान खुसी पारेर उखु तान्नसमेत उद्योगहरूले भुक्तानी छिटोछिटोे गरिरहेका नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीको भनाइ छ ।
 

See More On

सुझावित समाचार