तोकिएको स्थानमा सडक बन्नुपर्ने माग गर्दै उपप्रमुखले दिइन् निवेदन

आइतबार, २८ पुष, २०८१
डिजिटल संस्करण

मन्थली नगरपालिका– ४ सालुको च्याउकेठाँटी हुँदै रामेछाप नगरपालिकाको भालुखोपतर्फ जाने सडक तोकिएको स्थानभन्दा फरक तरिकाले निर्माण गर्न लागेको भन्दै त्यसको विरोधमा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतले सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापमा निवेदन दिएकी छिन् । 

मन्थली नगरपालिका– ४ सालुको च्याउकेठाँटीबाट रामेछाप नगरपालिकाको भालुखोपतर्फ जाने सडक रामेछाप नगरपालिकाको ओख्रेनी क्षेत्रमा मात्र निर्माण गर्ने गरी सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले ठेक्का आह्वान गरेपछि मन्थली नगरपालिकाकी उपप्रमुखको नेतृत्वमा सालुका स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । 

सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०८१/८२ को कार्यक्रममा उक्त सडक निर्माणका लागि एक करोड रुपैयाँ विनीयोजन गरेको थियो । विनियोजित बजेटको अधिनमा सडक निर्माण गर्नका लागि रामेछाप नगरपालिका ६ ओख्रेनी क्षेत्रमा मात्र काम गर्ने गरी आह्वान भएको उक्त ठेक्का रद्द गरी कार्यक्रम र बजेटबमोजिम तोकिएको स्थान सालुको च्याउकेठाँटी हुँदै भालुखोपतर्फ लैजानुपर्ने माग राखी उपप्रमुख बस्नेतलगायत सालुका स्थानीय नागरिकले सघन सहरी तथा भवन निर्माण आयोजनामा निवेदन दिएका हुन् । 

सडकको प्रस्थानविन्दु मन्थली नगरपालिका– ४ च्याउकेठाँटीबाट काम सुरु हुनुपर्नेमा सघन सहरी तथा भवन निर्माण आयोजनाका कर्मचारीहरूले रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरूले भनेबमोजिम ठेक्का आह्वान गर्नु दुःखद भएको मन्थली नगरपालिका– ४ का वडाध्यक्ष राजन घिमिरले जानकारी दिए । उनले सडकले छुने वडाहरूको सम्बन्धित वडाध्यक्षसँग राय–सल्लाह गरेर ठेक्का आह्वान गर्नुपर्नेमा सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियरहरूले जनप्रतिनिधिहरूलाई बेवास्ता गर्दै टेन्डर आह्वान गरेकाले तत्काल ठेक्का रद्द गरी सालुको च्याउकेठाँटी हुँदै सडक निमार्णगर्ने गरी पुनः टेन्डर आह्वान गर्नुपर्ने बताए । 

सडक निर्माण गर्ने कार्यक्रममा च्याउकेठाँटी गाईटार भालुखोप सडक उल्लेख भएकाले रामेछापका जनप्रतिनिधिहरूले गरेको सिफारिसको आधारमा रामेछाप नगरपालिका– ६ ओख्रेनी क्षेत्रमा सडकको नापजाँच र सर्भे गरी सोहीअनुसार टेन्डर आह्वान गरीको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका इन्जिनियर शिवराम महर्जनले जानकारी दिए । 
तत्कालीन जिल्ला विकास समितिले कृषि सडक कार्यक्रमअन्तर्गत सालुको च्याउकेठाँटीदेखि भालुखोपसम्मको सडक निर्माण गरेको थियो ।

सोही सडकमा नाला, टेवा पर्खाललगायतका कामहरू बाँकी रहेको र साँघुरो सडकलाई चौडा गर्ने र केही अन्य पूर्वाधारको कामसमेत गर्ने गरी यस वर्ष उक्त सडकको काम गर्न लागिएको हो । 

सुझावित समाचार