पूर्वीचितवनका सिमसार क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५५ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटी र नेपाल पन्छीविद् संघको आयोजनामा यही पुस २२ र २३ गते चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा फैलिएका तालतलैया र नदीनालामा गणना गरिएको थियो ।
गत वर्ष नभेटिएका दुई प्रजातिका चरासमेत यसपटक भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीका कार्यक्रम संयोजक चराविज्ञ वासु बिडारीका अनुसार यसपालि कालो टाउके गंगाचिल र राजा गंगाचिल देखिएका हुन् । गत वर्ष भेटिएका सबै प्रजातिका चरा यसपापलि पनि भेटिएको उनले बताए । गत वर्ष ५३ प्रजतिका चरा देखिएका थिए ।
यस वर्ष लोथरबाट दरै बोटेताल, गैडहवा (जिन्दगानी घाट)बाट सौराहाघाट, सौराहाघाटबाट कसरा पुल, तमोर ताल, लामी ताल, बीसहजार ताल र यससँग सम्बन्धित ताल भण्डारा माछापोखरी, बुढी राप्ती ढुंगरे खोला, पटना ताललगायत पूर्वीचितवनको सिमसारमा गरिएको थियो । बिडारीले दुई दिन भएको गणनामा सात हजार १५० चरा समावेश भएको जानकारी दिए । तीमध्ये चार हजार १०७ चखेवाचखेवी रहेको उनले बताए ।
अघिल्लो वर्ष सात हजार ५१७ चरा समावेश भएका थिए । अघिल्लो वर्षभन्दा चखेवाचखेवीको संख्या घटेको हो । अघिल्लो वर्ष चार हजार ३०४ भेटिएको उनले बताए । सौराहाघाटबाट कसराघाटसम्म ४१ प्रजाति भेटिएका छन् ।
यस्तै, लोथरबाट जिन्दगानी घाटसम्म दुई, जिन्दगानी घाटबाट सौराहाघाटसम्म २५, बीसहजार तालमा ३०, बुढीराप्तीमा २६, ढुंगरे खोलामा २४, मत्स्य विकास केन्द्रमा १८, लामी तालमा १६, पटना तालमा १२ र तमोर तालमा चार प्रजातिका चरा भेटिएको उनले बताए ।
सात हजार १५० चरा समावेश हुँदा पानीहाँस मात्र चार हजार १०७ वटा समावेश भएको उनले बताए । जलकौवा सानु ११७ र ठुलो ४६० वटा गणनामा समावेश भएका छन् । बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका बिडारीले प्रदूषण, नदीजन्य पदार्थ उत्खनन र बढ्दो मानवीय चहलपहलका कारण जलपन्छीको संख्या घट्दै गएको बताए । ‘जलेवा चरा बढेका छन् । चखेवाको संख्या उस्तैउस्तै छ,’ बिडारीले भने ।
प्रदूषण कम भएको क्षेत्रमा तुलनात्मक रूपमा धेरै चरा र वन्यजन्तु भेटिएको उनको भनाइ छ । सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एसियाका ३५ देशमा प्रत्येक वर्ष अंग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ ।
सोसाइटीले हाल जाडोयामका पानीचरा गणना गरेको हो । चितवनमा ६५२ प्रजाति चरा पाइने उनले बताए । त्यसमध्ये यस वर्ष जिल्लामा १५९ प्रजाति भेटिए । पानीमा मात्र आश्रित ५५ प्रजाति रहेको उनले बताए । रासस