मकवानपुर प्रहरीले २१ किलो ४६० ग्राम चरेस र तीन किलो ४७० ग्राम अफिमसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको हरियाणा राज्यको हिसार जिल्ला ग्राम पञ्चायत गोविन्दनगर घर भएका २५ वर्षीय कुनाल गोथ्वाल र सोही स्थानका २० वर्षीय मनीष कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार इलाका प्रहरी कार्यलय पालुङबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान २ बजे थाहा नगरपालिका– ११ नौखण्डेस्थित त्रिभुवन राजपथ सडकखण्डबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
टिस्टुङबाट हेटौँडा हुँदै भारततर्फ लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उक्त स्थानमा सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा डिएल ८ सिएक्स १२२४ नम्बरको भारतीय कारमा लुकाइछिपाई ल्याएको लागुऔषध चरेस र अफिम फेला पारेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
यस्तै, प्रहरीले १०१ किलो गाँजासहित अर्का एकजनालाई पनि पक्राउ गरेको छ। प्रहरीले हेटौँडा उपमहानगरपालिका– १५ स्थित चेकपोइन्टबाट पर्साको वीरगन्ज महानगरपालिका– २६ अठराह सुगौलीका २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रमुख खड्काले बताए।