एक स्कुले बालक हरेक दिन फुटबल अभ्यासका लागि मैदानमा आउने गर्थे । तर, उनी कहिल्यै टिममा सामेल हुन सकेनन् । उनी अभ्यास गर्दा उनका पिता मैदानको छेउमा बसेर प्रतीक्षा गरिरहन्थे । अन्तरस्कुल फुटबल प्रतियोगिता सुरु भयो । तर, चार दिनसम्म ती बालक अभ्यास गर्न आएनन् ।
बालकको स्कुल क्र्वाटर फाइनल हुँदै सेमिफाइनल प्रवेश ग¥यो । तैपनि, उनी खेलमा आएनन् । तर, जब उनको स्कुल फाइनलमा पुग्यो । त्यसपछि उनी मैदानमा पुगे र प्रशिक्षकसित आफूलाई पनि टोलीमा सामेल गरेर फाइनल खेल खेल्न दिन अनुरोध गरे । उनले भने– हजुरले मलाई जहिल्यै रिजर्भमा राख्नुभयो, कहिल्यै खेल्न दिनुभएन । आज एकपटक मौका दिनुहोस्, म हजुरलाई निराश पार्नेछैन । प्रशिक्षकले भने– म तिमीलाई आजको खेलमा पनि मौका दिन सक्दिनँ । किनकि, टोलीमा तिमीभन्दा निकै राम्रा खेलाडी छन् । आज फाइनल खेल भइरहेको छ । स्कुलको इज्जत दाउमा छ । म कुनै खतरा उठाउन चाहन्नँ । बालकले फेरि पनि आफूलाई मौका दिन अनुनय गरिरहे । बालकको उत्कट इच्छा देखेर प्रशिक्षकले उनलाई अनुमति दिए । खेल सुरु भयो । बालकले हावाको गतिमा उत्कृष्ट खेल प्रदर्शन गरे । उनले जब–जब आफ्नो नजिक बल भेटे, गोल गरेरै छाडे । त्यसैले, उनी टोलीका नायक बने र उनको स्कुलले खेल जित्यो ।
खेल समाप्तिपछि प्रशिक्षकले भने– मैले यसअघि तिमीले कहिल्यै यसरी खेलेको देखेको थिइनँ । यो चमत्कार कसरी सम्भव भयो ? बालकले भने– सर, आज मेरा पिताले मैले खेलेको हेरिरहनुभएको थियो । प्रशिक्षकले पहिले–पहिले उनका पिता बस्ने स्थानमा हेरे, त्यहाँ कोही थिएन । उनले प्रश्न गरे– खोइ त तिम्रा पिता, कहाँ हुनुहुन्छ ?
बालकले गम्भीर हुँदै उत्तर दिए– सर, मेरा पिता दृष्टिविहीन हुनुहुन्थ्यो । यसअघि उहाँले कहिल्यै मेरो खेल देख्न सक्नुभएन । चार दिनअघि उहाँको मृत्यु भयो । त्यसैले, आज उहाँ माथिबाट मेरो खेल हेरिरहनुभएको छ । बाबाले हेरिरहेको उत्साहमा मैले यसरी खेल्न सकेँ आज ।