संविधानविद् भीमार्जुन आचार्य भन्छन्–संशोधनको बहाना वा आवरणमा सत्तालाई टिकाइराख्न दुई ठुला दल मिलेको पुष्टि गर्‍यो

शुक्रबार, २६ पुष, २०८१
डिजिटल संस्करण

संविधान संशोधनको बहस

संविधानविद् भीमार्जुन आचार्य प्रधानमन्त्रीको अभिव्यक्तिले गठबन्धनको औचित्यमाथिको आशंकामा बल पुगेको तर्क गर्छन् । यसले प्रधानमन्त्री ओली संविधान संशोधनप्रति प्रतिबद्ध नरहेको र संविधान संशोधनको आवरणमा सत्तालाई टिकाइराख्नु सत्तासाझेदार दुई ठुला दलको मुख्य उद्देश्यको देखिएको उनको जिकिर छ ।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले सत्तागठबन्धनमा आफूले प्रतिबद्धता गरेको विषयमा प्रतिबद्ध नरहेको देखाउँछ । समझदारी हुँदाको समयमा ठुला भनिएका दुई दलले संविधान संशोधनको विषय सत्ताको औचित्य पुष्टि गर्न उठाएका हुन्, उनीहरू यसप्रति इमानदार छैनन् भन्ने आशंका पनि थियो । प्रधानमन्त्रीको अभिव्यक्तिले आशंकालाई बल पुगेको छ । यो प्रधानमन्त्रीको गैरजिम्मेवारीपना हो । प्रधानमन्त्री नै बोलेको विषयलाई जिम्मेवार रूपमै लिनुपर्दछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘यो गठबन्धन संविधान संशोधनप्रति इमानदार छैन भन्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री गठबन्धनका अन्य सत्तासहयात्री दलसँग पनि इमानदार छैनन् भन्ने हो । प्रधानमन्त्रीको अभिष्ट भनेको पहिलो प्राथमिकतामा उनको पद मात्रै हो, अरू त्यसपछिका प्राथमिकता हुन् भन्ने स्पष्ट पारेको छ । यसले संविधान संशोधनको बहाना वा आवरणमा सत्तालाई टिकाइराख्न दुई ठुला दल मिलेको आशंकालाई पुष्टि गर्ने आधार बनेको छ ।’ 

संविधान संशोधन दुई दलको साझा दृष्टिकोणकै रूपमा नआउँदा स्पष्ट हुने अवस्था नरहेको संविधानविद् विपिन अधिकारी बताउँछन् । ‘सरकार बनाउँदा एउटा आधार संविधान संशोधन पनि बनेको देखिन्छ । तर कहिले, कुन रूपमा र के–के विषयमा संशोधन आवश्यक हो भन्नेबारे दुवै पार्टीको स्ट्यान्डर्ड कन्सेप्ट बनेको थिएन र अहिले पनि देखिँदैन । दुवै पार्टीका आ–आफ्ना संरचना र साझा संरचनामा कुरा भएको देखिँदैन । दुई पार्टीबिच आफ्नै रूपमा व्याख्या गर्ने गरिएको देखिन्छ,’ उनले भने, ‘त्यस्तो हुनु राम्रो होइन । यदि साँच्चिकै संविधान संशोधन एजेन्डा हो भने कहिले र कुन रूपमा साझा दृष्टिकोण आउनुपर्ने हो । कुराको उठान हुँदा तुरुन्तै होलाजस्तो देखिन्थ्यो, तर अहिले त्यस्तो छैन । अब भविष्यको मिति दिएर कुरा गर्न थालिएको छ । यसले ‘डिसइल्युजन’ भएको छ जुन राम्रो कुरा होइन ।’

दुई दलले संविधान संशोधनसहित विधेयकहरूको अध्ययन र सुशासन तथा सेवा प्रवाहका विषयमा १० पुसमा अलग–अलग कार्यदल बनाएका थिए । संविधान संशोधनसम्बन्धी कार्यदलमा कांग्रेस र एमालेबाट तीन÷तीनजनाको कार्यदल रहने सहमति भएको थियो । तर, अन्य कार्यदलको नाम सार्वजनिक भए पनि संविधान संशोधनसम्बन्धी कार्यदलमा रहने नेताहरूको नाम भने सार्वजनिक भइसकेको छैन ।

सुझावित समाचार