नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले १४ खेलपछि अर्धशतक बनाएका छन् । वीरगन्जमा चलिरहेको जय ट्रफी दुईदिवसीय पुरुष इलिट कपमा नेपाल पुलिसबाट खेलिरहेका कुशलले मधेश प्रदेशविरुद्ध ६३ रन बनाएका हुन् । यसअघि लगातार १३ खेलमा ओपनर कुशल चल्न सकेका थिएनन् । लगातार खराब प्रदर्शनपछि उनको चर्काे आलोचना पनि भयो ।
२० लाख पारिश्रमिकसहित फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको मार्की हुँदा पनि उनी चल्न सकेनन् । जसको घाटा टिमलाई भएको थियो । पछिल्लो समय कुशललाई राष्ट्रिय टोलीबाटै हटाउनुपर्ने भन्दै आलोचना भएको थियो । कुशलले पछिल्लोपटक अमेरिकाविरुद्ध १९ अक्टोबर २०२४ मा अविजित ९२ रन बनाएका थिए । त्यसपछि कुनै पनि खेलमा अर्धशतक बनाएनन् । यसबिचमा उनले एक टी–२० आई, चार एकदिवसीय, नेपाल प्रिमियर लिगमा सात खेल र जय ट्रफीमै दुई इनिङ्स खेलेका छन् । जय ट्रफीमा एक र एनपिएलमा दुईपटक डकआउट भए ।
बुधबार वीरगन्जको नारायणी रंगशालामा ओपनर कुशलले खुलेरै खेले । ६८ बलमा दश चौकासहित ६३ रन बनाए । सात चौकासहित ५६ रनमा अर्धशतक बनाए । कुशलले दिलीप नाथसँग पहिलो विकेटको लागि ९६ रनको साझेदारी गरेका थिए । दुई खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले पहिलो दिन नै ४५ रनको अग्रता बनाएको छ ।
पुलिस ४५ रनले अगाडि
जय ट्रफीको दोस्रो खेलमा पुलिसले मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ । नारायणी रंगशालामा पहिलो दिन दुई अर्धशतक बने । पुलिसका कुशलसँगै पहिलो इनिङ्समा मधेशका मयन यादवले अर्धशतक बनाएका हुन् । पहिलो खेलमा बामगतीविरुद्ध उनले शतक नै बनाएका थिए । जय ट्रफीमा शतक बनाउने मयन पहिलो खेलाडी हुन् ।
पहिलो दिनको स्टम्ससँग पुलिसले ४० ओभर खेलेर तीन विकेटको क्षतिमा १७४ रन बनाएको छ । पुलिसका कप्तान आरिफ शेख १३ र अमित श्रेष्ठ ३४ रनमा अविजित छन् । त्यसअघि ओपनर दिलीप नाथ ४० रनमा आउट भए । मधेशका कप्तान हरिशंकर साहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको मधेश प्रदेश पहिलो इनिङ्समा १२९ रनमा समेटियो । मधेशले लन्च ब्रेकसम्म २९.१ ओभरमा चार विकेटको क्षतिमा ९९ रन बनाएको थियो । थप ३० रन जोड्दा टोलीले ६ विकेट गुमायो । मधेशका मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा नीरज यादवले २९ रन बनाए भने अभिषेक तिवारीको १७ रन बनाएका छन् ।
गुल्सन पाँच विकेट लिने चौथो खेलाडी
पुलिसका गुल्सन झाले १३ ओभरमा ४० रन दिएर पाँच विकेट लिए । कुशल भुर्तेलले दुई विकेट लिए भने श्रवण यादव र ललित राजवंशीले एक–एक विकेट लिएका छन् । गुल्सन जय ट्रफीमा पाँच विकेट लिने चौथो खेलाडी हुन् । यसअघि पहिलो खेलमा बागमतीका सन्दीप लामिछानेले दुवै इनिङ्स तथा पुलिसका ललित राजवंशी, आर्मीका साहब आलमले एक इनिङमा पाँच विकेट लिएका थिए । सन्दीप र साहबले पहिलो खेलको दुवै इनिङ्समा समान १० विकेट लिका थिए ।
आर्मीविरुद्ध बागमती १५२ रनले पछाडि
विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश १५२ रनले पछाडि परेको छ । जनकपुरस्थित रामजानकी मैदानमा पहिलो दिन समाप्त हुँदा बागमती पाँच विकेट गुमाएर १२४ को स्थितिमा छ । नन्दन यादव १८ र विपिन आचार्य १ रन बनाएर खेलिरहेका छन् । यसअघि शुभ कंसाकार ३४, उत्तम मगर २८, रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर पेभेलियन फर्किएका थिए । आर्मीका लागि आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।
इमरान र बसिरको शतक, सन्दीप महँगो साबित
टस हारेर ब्याटिङ गरेको आर्मीका लागि इमरान शेख र बसिर अहमदले शतक बनाए । बलिङतर्फ कप्तान सन्दीप भने महँगो साबित भए । दुई विकेट लिए पनि सन्दीपले २२ ओभरमा १०३ रन खर्चिएका थिए । एक समय उनी तीव्रगतिको बलरको भूमिकामा पनि रहे ।
दुई खेलाडीको अर्धशतकपछि आर्मीले पहिलो इनिङ (६० ओभर)मा पाँच विकेट गुमाउँदै २७६ रन बनाएको थियो । ओपनर इमरान शेखले १०४ बलमा ११ चौकासहित सर्वाधिक ७२ रन बनाए । पाँचौँ नम्बर क्रिजमा पुगेका बसिर अहमदले ६४ बलमा आठ चौकासहित अविजित ५३ बनाएका हुन् । अर्का ओपनर तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन बनाए । इमरान र तृतराजले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गरेपछि आर्मी बलियो स्थितिमा पुगेको हो । बागमतीका लागि विपिन आचार्यले तीन विकेट लिए ।