कर तिर्ने एजेन्डाको बैठक : ऊर्जामन्त्री खड्का र सचिव आचार्यले गरे बहिष्कार

पुस मसान्तसम्म कर नतिरेमा प्राधिकरणले १३ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने

बुधबार, २४ पुष, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका विभागीय मन्त्री र सचिवले सञ्चालक समिति बैठक पनि भौतिक रूपमा बहिष्कार गरेका छन् । घिसिङलाई स्पष्टीकरण सोधेको अर्को दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र ऊर्जासचिव सुरेश आचार्यले सञ्चालक समिति बैठक बहिष्कार गरेका हुन् ।

समितिमा मन्त्री खड्का अध्यक्ष, कार्यकारी निर्देशक घिसिङ सदस्यसचिव र सचिव आचार्य सञ्चालक छन् । मन्त्री खड्का र सचिव आचार्यले घिसिङ उपस्थित बैठकमा नजाने भन्दै मंगलबारको बैठक बहिष्कार गरेका हुन् । बैठकको प्रमुख एजेन्डा प्राधिकरणले पुस मसान्तभित्र बुझाउनुपर्ने करसम्बन्धी थियो । 

‘कुलमानलाई स्पष्टीकरण सोधेकै कारण मंगलबारको बैठक मन्त्री र सचिवले बहिष्कार गरे । घिसिङ भएको बैठकमा उपस्थित नहुने नीति लिएको देखियो,’ प्राधिकरणका एक सञ्चालकले भने । 

ऊर्जामन्त्री खड्काको योजनामा ऊर्जासचिव आचार्यले सोमबार मात्रै घिसिङलाई सात दिनमा जवाफ दिन भन्दै नौबुँदे स्पष्टीकरण सोधेका थिए । त्यसको भोलिपल्टै अर्थात् मंगलबार भएको सञ्चालक समितिको बैठक भौतिक रूपमा बहिष्कार गरेका हुन् । 

प्राधिकरणले यही पुस मसान्तभित्र सरकारलाई कर तिर्नुपर्छ । यदि, पुस मसान्तभित्र कर नतिरे आम्दानीको ०.०१ प्रतिशत जरिवाना तिर्नुपर्छ । यही एजेन्डासहित मंगलबार बिहान बैठक आह्वान गरिएको थियो ।

कर तिर्नका लागि भने महालेखापरीक्षक कार्यालयबाट प्राधिकरणको लेखापरीक्षण पनि भइसकेको हुनुपर्छ । प्राधिकरणले यसअघि नै आफ्नो आन्तरिक लेखापरीक्षण गरिसकेको थियो । त्यसपछि महालेखाका तीनजना लेखापरीक्षक आएर प्राधिकरणको लेखापरीक्षण गरेका थिए । त्यसक्रममा महालेखाले त्यसमा केही सुझाव दिएको थियो । त्यो सुझावअनुसार काम गर्ने भन्दै सञ्चालक समितिबाट निर्णय गराएर महालेखामा पेस गर्नुपर्ने थियो । त्यसपछि महालेखाले लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्ने थियो । त्यसकै आधारमा प्राधिकरणले कर तिर्नुपर्छ । 

अब पुस मसान्त आउन पाँच कार्यदिन मात्रै बाँकी छ । मंगलबार सञ्चालक समितिबाट निर्णय गराएर महालेखामा ‘फाइल’ पठाउने र महालेखाबाट पुस मसान्तभित्र प्रतिवेदन स्वीकृत गराएर पुसभित्रै कर तिर्ने प्राधिकरणको योजना थियो । सोहीअनुसार मंगलबार बिहान सञ्चालक समितिको बैठक बोलाइएको थियो । तर, ऊर्जामन्त्री खड्का, ऊर्जासचिव आचार्य, राजस्वसचिव दिनेशकुमार घिमिरे र भरतराज आचार्य उक्त बैठकमा उपस्थित भएनन् । घिसिङसहित सञ्चालक सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली र लक्ष्मण केसी उपस्थित थिए । 

स्रोतका अनुसार मन्त्री खड्काले बिरामी भएका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । तर, उनले एजेन्डाको महŒव आत्मसात् गर्दै माइन्युट तयार गरेर हातेहाते हस्ताक्षर गराउन सर्कुलर जारी गरेका थिए । त्यसपछि मंगलबार बिहान घिसिङसहित चार सञ्चालक उपस्थित भएर माइन्युट लेखेका थिए । त्यसपछि प्राधिकरणका कर्मचारीले सञ्चालक भएको ठाउँमा जाँदै हस्ताक्षर गराएका थिए । तर, राजस्वसचिव घिमिरेले अध्ययन गरेर मात्रै हस्ताक्षर गर्ने भन्दै मंगलबार हस्ताक्षर गरेनन् । फलस्वरूप मंगलबार नै महालेखामा ‘फाइल’ पठाउने योजना सफल भएन । 

‘त्यसले गर्दा आज (मंगलबार) महालेखामा फाइल पठाउन सकिएन । यसै पनि समय कम छ । यदि, महालेखाले पुस मसान्तभित्र प्रतिवेदन स्वीकृत गरेन भने हामीले पुसभित्रै कर तिर्न सकिन्न । पुस मसान्त कटेमा ठुलो रकम जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्छ,’ एक सञ्चालकले भने । 

पुस मसान्तभित्र कर तिर्न नसकेमा प्राधिकरणले आम्दानीको ०.०१ प्रतिशत जरिवाना तिर्नुपर्छ । गत आवमा प्राधिकरणले एक खर्ब ३० अर्ब रुपैयाँ आम्दानी गरेको छ, त्योअनुसार समयमै कर नतिरेमा प्राधिकरणले १३ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने देखिन्छ । 

सुझावित समाचार