नेकपा (एमाले)को केन्द्रीय कमिटीले संविधान संशोधनको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरेको छ। १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै बैठकले संविधान संशोधनका लागि आग्रह गरेको हो।
‘नेपालको संविधान कार्यान्वयनको १० वर्ष हुन लागेको छ। संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै यसका सबल र दुर्बल पक्षहरूलाई निर्क्योल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी बृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउन यो बैठक सरकारसँग आग्रह गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ।
बैठकले कांग्रेस–एमालेको संयुक्त सरकार गठनपछि मुलुकमा राजनीतिक स्थिरताको सन्देश प्रवाह भएको निष्कर्ष निकाल्दै सत्तारूढ दलहरूबिचको आपसी सहकार्य र विश्वासलाई अझ सुदृढ बनाउन सुझाव दिएको छ।