जय ट्रफी एलिट कप : बलर हाबी हुँदा एकैदिन १७ विकेट

पहिलो दिन पुलिसका ललित राजवंशीले सात तथा आर्मीका शाहब आलमले पाँच विकेट लिए

सोमबार, २२ पुष, २०८१
डिजिटल संस्करण

बलर हाबी हुँदा जय ट्रफी पुरुष एलिट कप, २०८१ को पहिलो खेलमा एकैदिन १७ विकेट झरेका छन् । वीरगन्ज र जनकपुरमा आइतबारदेखि दुईदिवसीय खेल सुरु भएको छ । वीरगन्जको नारायणी रंगशालामा पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीविरुद्ध नेपाल पुलिस क्लब १८ रनले पछि छ । टस हारेर ब्याटिङ गरेको आर्मीले ३४.४ ओभरमा अलआउट हुँदै १२१ रन बनायो । प्रत्युत्तरमा ब्याटिङ सुरु गरेको पुलिसले २४ ओभरमा सात विकेट गुमाएर १०३ रन बनाएको छ ।

खेलमा पुलिसका स्पिनर ललितनारायण राजवंशी एक्लैले सात विकेट लिए । उनले आर्मीका सन्तोष कार्की, तृतराज दास, सोमपाल कामी, बसिर अहमद, विवेक यादव, शाहब आलम र आकाश चन्दको विकेट लिए । पुलिसका कुशल भुर्तेल, सर्वन यादव र रसिद खानले समान एक विकेट लिए । दोस्रो इनिङ्समा आर्मीका शाहब आलमले पाँच तथा सोमपाल कामी र पवन कार्कीले समान एक विकेट लिएका छन् । 

चलेनन् ब्याटर
पहिलो ब्याटिङ गरेको आर्मीका लागि आशा गरिएका कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२, सोमपाल कामीले ५ र सन्तोष कार्कीले १ रन बनाए । १८ रनले पछि परेको पुलिसका लागि अलराउन्डर गुल्सन झा ३४ रनमा अविजित छन् । यस्तै, अमित श्रेष्ठ १८, रसिद खान १६, शंकर रानाले १३ रन बनाएका छन् । नेपाल प्रिमियर लिगमा खराब प्रदर्शनपछि आलोचित भइरहेका ओपनरद्वय कुशल भुर्तेल र अजुन साउद पुनः पहिलो खेलमै गोल्डेन डक आउट भए । दुवै इनिङ्समा आशा गरिएका ब्याटरले धैर्य गर्न सकेका छैनन् ।

बागमती ६८ रनले पछि
जनकपुरस्थित रामजानकी मैदानमा भएको खेलमा मधेश प्रदेशविरुद्ध बागमती प्रदेश ६८ रनले पछाडि परेको छ । पहिलो दिनको खेल समाप्त हुँदा बागमतीले दुई विकेट गुमाएर ३४ रन बनाएको छ । बागमतीका लागि शुभ कंसाकार २२ र इशान पाण्डे ९ रन बनाएर खेलिरहेका छन् । रित गौतम ३ रन बनाएर पेभेलियन फर्किंदा आशुतोष घिरैया डकआउट भए । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले समान एक विकेट लिए । टस हारेर ब्याटिङ रोजेको मधेश पहिलो इनिङ्समा १०२ रनमै समेटिएको थियो । मधेशका लागि मायन यादवले २१, विशाल पटेलले १६, नीरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमांशु दत्तले १० रन बनाए । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले पाँच, सूर्य तामाङले तीन तथा नन्दन यादव र प्रतिश जिसीले समान एक विकेट लिए ।

सबै टिमलाई खेल्न गाह्रो छ : आरिफ शेख, कप्तान, पुलिस 
एकैदिनमा ६० ओभर खेल्नुपरेको छ । विकेट सुकेकाले पनि खासै राम्रो प्रदर्शन हुन सकेन । यसले पुलिस क्लबका लागि मात्र होइन विपक्षी टिमलाई पनि असर गरेको छ । यस्तो प्रतियोगिता पनि यहाँ कम नै भएको छ । मौसमले खेल अलिकति ढिला सुरु भएकाले केही असर गरेको हो कि जस्तो लाग्छ । पहिलेको तुलनामा ग्राउन्ड राम्रो पनि भएको छ । यहाँको व्यवस्थापन पनि राम्रो भएको छ । यहाँ बिस्तारै ठुलाठुला प्रतियोगिता पनि आयोजना हुनुपर्छ ।

मौसम उपयुक्त भएन : विनोद भण्डारी, कप्तान, आर्मी 
यस्तो प्रतियोगिता नेपालमा नियमित नभका कारण ब्याटरले टिकेर खेल्न सकेनन् । यस्तो प्रतियोगिता नियमित रूपमा भएको भए खेल्न सहज हुन्थ्यो । यस्तै, बिहान ९ बजे सुरु हुने भनिएको खेल मौसमका कारण खेल १ बजे मात्र सुरु भयो । जसले गर्दा पनि खेल्न असर गरेको हो जस्तो लाग्छ । प्रतियोगिताका लागि मौसम पनि उपयुक्त नभएको हो कि जस्तो लाग्छ । ग्राउन्ड राम्र्रो छ, तर मौसमले गर्दा अलिकति खेलमा असर गरेको हो ।

सुझावित समाचार