मुगुको खत्याडमा स्थानीय बिउ प्रदर्शनी मेला

आइतबार, २१ पुष, २०८१
डिजिटल संस्करण

मुगुको पश्चिम खत्याडमा स्थानीय रैथाने बिउ प्रदर्शनी मेला तथा बिउ ऐँचोपैँचो कार्यक्रम सम्पन्न भएको छ। शनिबार खत्याड गाउँपालिका– ११ रातापानीमा भएको कार्यक्रममा कृषकहरूले रैथाने कृषि बिउबिजन प्रदर्शनीमा राखेका हुन्।

खत्याड बहुउद्देश्यीय सहकारी संस्था र मानव अधिकार तथा वातावरण विकास केन्द्र नेपालको आयोजना, सामाजिक सेवा अध्ययन केन्द्रको आर्थिक सहयोग र खत्याड गाउँपालिकाको समन्वयमा स्थानीय किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रदर्शनी आयोजना गरिएको हो।

खत्याड गाउँपालिकाअन्तर्गत  वडा नं ८, ९, १० र ११ का सहभागी किसान तथा कृषक समूहहरूले आफूले उत्पादन गरेका रैथाने बिउ र कृषि सामग्री प्रदर्शनीमा राखेका थिए। मेलामा नाैवटा रैथाने बिउको स्टल राखिएको थियो।

रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ गाउँपालिकाले रातापानीमा मेला प्रदर्शनी गरिएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हेरेन्डेक नेपालका कार्यक्रम प्रबन्धक नमराज रावतले बताए। किसानहरूलाई यस्ता मेलामार्फत स्थानीय बाली प्रयोग गर्न कृषि उत्पादनमा जोड दिनुका साथै कृषि क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ।

पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्त्व बुझाउन मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ।

सुझावित समाचार