अमिरचन्दको व्यापार निकै फैलिएको थियो । उनलाई धन, दौलत, आरामदायी भवन तथा सुख, सुविधाको कुनै कमी थिएन । तैपनि, उनी शान्त रहन सक्दैनथे । उनको मनमा कत्ति पनि शान्ति थिएन । मानसिक बेचैनी र छटपटी बढिरहेको थियो । त्यसैले, एकदिन उनी घर छाडेर कतै हिँडे । तर, उनी कता जाँदै थिए, त्यसको उनैलाई पत्तो थिएन ।
बाटामा हिँडिरहेको समयमा उनले एकजना सन्तको आश्रममा प्रवचन भइरहेको सुने । उनी पनि आश्रममा प्रवेश गरे र प्रवचनस्थलमा बसे । प्रवचन समाप्त भयो । सबैजना आआफ्ना घरतिर लागे । तर, व्यापारी अमिरचन्द भने त्यहीँ बसिरहे । उनलाई देखेर सन्तले प्रश्न गरे– तिमी किन यहीँ बसिरहेका छौ ? कुनै समस्या छ भने मलाई भन, म सक्दो मद्दत गर्नेछु । अमिरचन्दले भने– बाबा, मेरो मनमा अलिकति पनि शान्ति छैन । म भित्रभित्रै निकै अशान्त छु । व्यापारीको समस्या सुनेपछि सन्तले भने– चिन्ता नलेऊ, तिम्रो मनको अशान्ति अहिल्यै भगाइदिन्छु । तिमी आँखा बन्द गरेर ध्यानमुद्रामा बस । सन्तको आदेशपछि उनी ध्यानमुद्रामा त बसे । तर, उनको मनमा भने यताउताका अनेक विषय मडारिन थाले । उनी शान्त बस्नै सकेनन् । सन्तले भने– ठिकै छ, तिमीलाई कठिन भयो भने यसो आश्रमको वरिपरि घुमेर आऊ । व्यापारी अमिरचन्द आश्रमको चक्कर लगाउन थाले । त्यहाँको हरियाली, चराचुरुंगीको चिरबिराहट र बगैँचामा फुलेका सुन्दर फूल देख्दा उनी दंग परे । उनले एउटा निकै सुन्दर रुख देखे । उनले रुखका हाँगामा यसो हात लगाएका मात्र थिए, उनलाई काँडाले घोच्यो । हातबाट रगत आउन थाल्यो । पीडाले उनी चिच्याउन थाले ।
अमिरचन्दको चिच्याहट सुनेपछि सन्तले उनलाई आश्रममा बोलाए र उनको घाउमा औषधि लगाइदिए । अमिरचन्दको पीडा कम भएपछि सन्तले भने– तिम्रो हातमा एउटा सानो काँडाले घोच्दा त तिमी यति धेरै चिच्यायौ, छट्पटियौ भने तिम्रो मनचाहिँ असीमित ईर्ष्या, लोभ, क्रोधजस्ता काँडाले बारम्बार घोच्दा कसरी शान्त रहन सक्छ ? सन्तको भनाइ सुनेपछि अमिरचन्दका आँखा खुले । त्यस दिनदेखि उनले कहिल्यै ईर्ष्या, लोभ, क्रोध गरेनन् र सुखी जीवन बाँच्न सफल भए ।