पब्लिकेसन नेपालयले ‘२०२५ मा २५ वर्षमुनिका २५’ कार्यक्रम घोषणा गरेको छ। कार्यक्रमअन्तर्गत नेपालयले संसारभरि फैलिएका २५ वर्ष वा त्योभन्दा कम उमेरका नेपालीहरूका फरक विधाका तीनवटा पुस्तक प्रकाशन गर्ने घोषणा गरेको हो। पुस्तकहरू कथा, कविता र निबन्ध विधाका हुनेछन्।
नेपालयले एक्काइसौँ शताब्दी के सोचिरहेको छ? के लेखिरहेको छ ? भन्ने प्रश्नमा केन्द्रित रही वर्तमान सहस्राब्दीमा जन्मेका लेखकहरूलाई खुला आह्वान गरेको हो।
‘सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘लेखकहरूले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन्।’
त्यसैगरी, लेखकहरू जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहनेछन्। तीन विधामध्ये निबन्ध आफैँमा बन्धनरहित खुला विधा भएकाले यसमा निबन्ध, प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यंग्य, टिप्पणी, ओपेड, सम्बोधन, समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, मिथक, श्रुति आदि सबैखाले रचना स्वीकार्य हुने नेपालयले जनाएको छ।
‘हालसम्म कुनै पनि माध्यमबाट सार्वजनिक नभएका त्यस्ता रचनाहरू बढीमा २५ सय शब्दको हुनुपर्ने प्रावधान राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरेर तयार पारिएको कुनै पनि लेख वा रचना यो प्रतिस्पर्धाका लागि अमान्य हुनेछ।’
तयार रचनालाई २०२५ को फेब्रुअरी २५ तारिखभित्र पब्लिकेसन नेपालयको वेबसाइटमार्फत समाविष्ट गर्न सकिनेछ। फाराम पनि वेबसाइटमै उपलब्ध हुनेछ।
‘लामो र भारीभरकम भन्दा पनि रसिलो–कसिलो, सरल–तरल, शुद्ध–चुस्त अनि छोटो–छरितो रचना छनोटमा पर्ने सम्भावना बढी रहन्छ,’ विज्ञप्तिमा भनिएको छ।
यसरी प्राप्त भएका रचनाहरूलाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनोट गर्ने बताइएको छ। तत्पश्चात् छनोटमा परेका लेख–रचनाहरू विधागत हिसाबले तीनवटा फरक-फरक पुस्तकका रूपमा सन् २०२५ भित्रै पब्लिकेसन नेपालयले प्रकाशन गर्नेछ। पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिनेछ भने केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिने बताइएको छ।
लेखकको योग्यता भनेकै केवल उनको जन्म सन् २००० को जनवरी १ तारिख वा त्यसभन्दा पछि भएको हुनुपर्नेछ। त्यसका लागि जन्ममिति खुल्ने तस्बिरसहितको कुनै पनि परिचयपत्र संलग्न गरी पठाउनुपर्ने हुन्छ।
‘हामीले आफ्ना प्रकाशन र त्यसको प्रवर्द्धनमा नवीनतालाई सदैव प्राथमिकतामा राख्दै आएका छौँ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यो अभियान नयाँ पुस्तामा सम्भावना बोकेर बसेका लेखकहरू कुनै कारणवश अगाडि आउन सकिरहेका छैनन् भने उनीहरूसम्मै पहुँच बनाउने प्रयासको सुरुवात हो।’
नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’सँगै नेपालयको स्थापना भएको थियो। नेपाली प्रकाशनको क्षेत्रमा लामो यात्रापछि नयाँ पुस्ताबाट नयाँ सम्भावनाहरूको खोजी, संवर्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने नेपालयको भनाइ छ।