सुदूरपश्चिम प्रदेशका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री नरेश शाहीले ‘स्वाभिमान सुदूरपश्चिम अभियान’ घोषणा गरेका छन्। सुदूरपश्चिमलाई विकासको मूलधारमा ल्याउन दबाब दिने उद्देश्यले अभियान घोषणा गरिएको उनले बताए। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका शाहीले आर्थिक, भौतिक र मानवीय विकासका लागि दबाब दिने उद्देश्यले अभियान सञ्चालन गर्ने बताए।
‘पिछिडिएको सुदूरपश्चिमलाई अगाडि ल्याउने दायित्व यहाँको समाजको हो। त्यसका लागि सरकारलाई दबाब दिनु आवश्यक छ। सुदूरपश्चिमको आर्थिक, भौतिक र मानवीय विकासका लागि दबाब दिने उद्देश्य हो,’ उनले भने।
स्रोतको समानुपातिक वितरणमा केन्द्र सरकारलाई दबाब दिने अभियानको लक्ष्य छ। केन्द्रले वितरण गर्ने बजेट, कार्यक्रम, राष्ट्र बैंकको लगानी र वैदेशिक अनुदानमा सुदूरपश्चिमले प्राथमिकता पाउनुपर्नेमा शाहीले जोड दिए।
‘हाम्रो नाममा संघले ऋण लिएर अन्यत्र खर्च गर्ने गरेको छ। गौरवका योजना वर्षौंदेखि अलपत्र परेका छन्। प्रदेशको अवस्था कमजोर छ,’ शाहीले भने, ‘अब यही अवस्था रहन सक्दैन। जागरुक भएर लाग्नुपर्ने वेला भइसक्यो भन्ने हाम्रो निष्कर्ष हो।’
सिंगो सुदूरपश्चिमको समुन्नतिको लागि लड्ने भन्दै शाहीले यो अभियानमा कुनै दल, वाद र सिद्धान्तभन्दा माथि उठ्ने बताए। सुदूरपश्चिमका ९ वटै जिल्ला र सबै पालिकामा अभियानको संगठन विस्तार हुने भएको छ। सुदूरपश्चिमलाई अग्राधिकार दिएर संविधान संशोधन गर्नुपर्ने मागसमेत उनको छ। अभियानमा सुदूरपश्चिमका सचेत युवा जोडिनेछन्।
सुदूरपश्चिमबाट सस्तोमा श्रम बेच्न भारत जानेहरूको संख्या धेरै छ। उनीहरूको तथ्यांकसमेत नराखिएकाले घाइते वा मृत्यु हुँदा राज्यले चासो नदेखाएको समेत शाहीले बताए। अभियानमा उनीहरूका मुद्दासमेत समेट्ने शाहीले बताए।