प्रहरी हौँ भन्दै बालिकालाई बन्धक बनाउने कञ्चनपुरका दुई युवक पक्राउ परेका छन्। गत शनिबार भीमदत्त नगरपालिका– ६, ऐँठपुर शिवमन्दिर क्षेत्रमा १६ वर्षीया बालिकालाई बन्धक बनाएको अभियोगमा कञ्चनपुर प्रहरीले दुई युवकलाई पक्राउ गरेको हो।
बालिकालाई बन्धक बनाउने भीमदत्त नगरपालिका– १६ का ३५ वर्षीय महेशसिंह खत्री र ३३ वर्षीय ध्रुव जोशीलाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जानकारी दिए। प्रवक्ता जोशीका अनुसार उनीहरूले गत शनिबार ऐँठपुर शिव मन्दिर क्षेत्रबाट बालिकालाई बन्धक बनाई भीमदत्त–१६ वसन्तपुर पुर्याएका थिए।
मोटरसाइकलमा आएका खत्री र जोशीले बैतडी घर भई हाल भीमदत्त नगरपालिकामा डेरा गरेर बस्दै आएकी ती बालिकालाई वसन्तपुर लगेका थिए। उनीहरूले प्रयोग गरेको बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको प्रवक्ता जोशीले जानकारी दिए।
ती युवकहरू र बालिकाबिच कुनै चिनजान भएको नदेखिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध प्रहरीले अपहरण गरी शरीर बन्धक बनाएको मुद्दा चलाएको छ।