एउटा गाउँनजिकै घना जंगल थियो । जंगलमा अनेक प्रकारका रुख थिए । तीमध्ये एउटा इच्छापूर्ति रुख पनि थियो । जसको फेदमा बसेर कुनै इच्छा प्रकट गर्नासाथ त्यो तुरुन्तै पूरा हुन्थ्यो । तर, यस रुखको रहस्यबारे अत्यन्त कम मानिसलाई मात्र थियो । जंगल निकै घना भएकाले त्यहाँ पस्न हम्मेसि जोकोहीले हिम्मत गर्दैनथे ।
एकपटक संयोगवश एकजना व्यापारी कतै जाने क्रममा बाटो भुलेर जंगलमा हराए । यताउता गर्दागर्दै उनी सोही इच्छापूर्ति वृक्षमुनि पुगे । उनी निकै थाकेका थिए । रुखको फेदमा यसो पल्टिनासाथ उनी कतिखेर निदाए पत्तै भएन । जब उनी बिउँझिए, उनलाई निकै भोक लागिरहेको थियो । यसो उताउता हेरेर उनले मनमनै सोचे– ओहो ! कस्तो भोक लाग्यो । यसो केही खान पाए पनि हुन्थ्यो नि ! तर, के गर्नु यो जंगलमा कहाँबाट खानेकुरा पाउनु र ?
व्यापारीले यत्ति सोच्नासाथ ताजा र स्वादिष्ट खानाले भरिएका थाल हावामा उड्दै उनीसामु आइपुगे । यो सब देख्दा उनी छक्क परे । तर, निकै भोक लागेको हुनाले दायाँबायाँ केही नसोची उनले मजाले खाना खाए । खाना खाइसकेपछि उनले सोचे– खाना त खाइयो । तर, आसपास कतै खोला पनि देखिन्न । यसो पानी पनि पिउन पाए त यो जंगल पार गर्ने तागत आउँदो हो कि ? उनले यति सोच्नासाथ हावामा तैरिँदै अनेक स्वादका सर्बतले भरिएका गिलास उनीसामु आइपुगे । उनले फटाफट सर्बत पनि पिए ।
भोकतिर्खा मेटिसकेपछि उनी सोच्न थाले– होइन, यो सब म सपना त देखिरहेको छैन ? यसरी हावामा खाना, पानी प्रकट भएको त पहिले कहिल्यै देखेसुनेको थिइनँ । यस्तो त दन्त्यकथामा मात्र पढेको थिएँ । पक्कै पनि यो रुखमा भूत लुकेको हुनुपर्छ । अब मलाई टन्न खानपिन गराइसकेपछि पक्कै पनि त्यस भूतले खान्छ होला । उनले यति सोच्नासाथ साँच्चै एउटा भूत अगाडि आयो र व्यापारीलाई कप्लक्कै निलिदियो ।