किवीबाट जाम र वाइन, दोब्बर आम्दानी

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभई जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ ।

दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृंखला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बरभन्दा बढी आम्दानी पाइरहेका छन् । किवीको बिक्रीबाट किसानले प्रतिकेजी रु. दुई सय ५० सम्म पाएका छन् । सोही परिमाणको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन् ।

‘किसानले व्यावसायिक रूपमा गरेको किवी खेतीको उत्पादित फल स्थानीय बजारदेखि राजधानी काठमाडौंसम्म लगेर बिक्री गर्दा भोगिरहेको समस्या समाधानका लागि पालिकाबाट आवश्यक सहयोगका कार्यक्रम ल्याएका छौँ,’ अध्यक्ष थापाले भने, ‘किवीको व्यावसायिक उत्पादनमा पुर्याउँदै आएको सहयोगपश्चात् उत्पादित फललाई ग्रेडिङ गरेर जाम र वाइन बनाउन किसानलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ ।’

दुप्चेश्वर महादेव मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीलाई किवीबाट बनेको जाम मागअनुसार उपलब्ध गराउन नसकिएको गाउँपालिकाको कृषि शाखा प्रमुख सुदेश सुवेदीको भनाइ छ । किवीको आकारअनुसार स्तर निर्धारण (ग्रेडिङ) गर्दै ठुला र आकर्षक फल बिक्रीका लागि बजार पठाइन्छ भने बाँकीलाई उपभोक्ताको मागअनुसार जाम र वाइन बनाउन प्रयोगमा ल्याइएको छ । त्यसका लागि किसानलाई तालिम र प्राविधिक सहयोग गाउँपालिकाले उपलब्ध गराएको कृषि शाखा प्रमुख सुवेदीले जानकारी दिए ।

‘हरेक वर्ष एक याममा उत्पादन हुने फल (किवी) बजारको प्रतिस्पर्धाले किसानले राम्रो लाभ लिन समस्या भएपछि गाउँपालिकाले यस वर्षदेखि फललाई परिकारमा रूपान्तरणको योजना ल्याएको हो,’ उनले भने, ‘उपभोक्ताको मागअनुसार जाम बनाउन प्राथमिकता दिइएको छ । आगामी वर्षदेखि जुस, सुकुटी, क्यान्डी, अचारलगायतको उत्पादनलाई प्रयोगमा ल्याउने लक्ष्य लिइएको छ ।’

किवीबाट उत्पादन गरिएका जाम र वाइनको खाद्य तथा गुणस्तर मापन हुन भने बाँकी छ । त्यसका लागि पालिकामार्फत पहल अघि बढाइएको छ । स्थानीय स्रोत र साधनको उपयोग एवं छोटो अवधिको तालिम लिएका जनशक्तिबाट न्यून लागतमा तयार गरिएको जामलगायतका परिकारको ‘ब्रान्डिङ’ गुणस्तरीय प्रमाणित भए किसानले राम्रो लाभ लिन सक्नेछन् ।

सेवनयोग्य परीक्षणको प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सबलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले लिएको कृषि शाखा प्रमुख सुवेदीको भनाइ छ ।

दुप्चेश्वर गाउँपालिकाको वडा नं. २ गाउँखर्कसहित यहाँको विभिन्न वडाका बस्तीहरूमा किवीको व्यावसायिक खेती गरिएको छ । दुप्चेश्वर गाउँपालिकाले गत वर्ष जंगलमा खेर गएका लालीगुराँस संकलन गरेर जुस उत्पादन सुरु गरेको थियो । सोही कार्यक्रम सफल भएसँगै उत्साहित भएको पालिकाले यो वर्ष किवीको उत्पादनलाई बहुपरिकारमार्फत किसानलाई लाभ पुर्याउन थप कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

सुझावित समाचार