नक्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

सोमबार, १५ पुष, २०८१
डिजिटल संस्करण

ललितपुरको नक्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । असोज १२ गते शनिबार नक्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नक्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दु:खेसो छ ।

बाढीका कारण नक्खु खोलाकिनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललितपुर महानगरपालिका– ४ का स्थानीय मिलन यसमाली मगरले दुःखेसो पोखे । उनले भने, ‘दिउँसो हावा चलेको वेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ, पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ ।’

बाढीले क्षति पुर्याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्‌को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका– १३ का वडाध्यक्ष गणेश केसीको भनाइ छ । ‘नक्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिपर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो,’ उनले भने ।

नक्खु र भैँसेपाटी जोड्ने नक्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नुपरेको छ । हरेक दिन नक्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताए । उनले भने, ‘मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन् । धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो ।’

त्यसैगरी, बाढीले नक्खु करिडोर क्षेत्रमा क्षति पुर्याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउँछन् । उनले भने, ‘चिसो बढेको छ । बाढीपीडितहरू मुस्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो, तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरु भएपछि  दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ ।’ रासस

सुझावित समाचार