एकैपटक ठुलो संख्यामा प्राविधिक भर्ना गरेर बागमती प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयका फाइल ‘डिजिटलाइज’ गर्न थालेको छ । यसअन्तर्गत बागमती प्रदेशका यातायात व्यवस्था कार्यालयले सवारीसाधनका २२ लाखभन्दा धेरै फाइल डिजिटलाइज गर्ने प्रक्रिया सुरु गरेका हुन् । हाल यस्ता फाइल व्यवस्थित गर्न नसक्दा कार्यसम्पादनमा धेरै समय लाग्ने र कतिपय फाइल त कार्यालयबाटै हराउने समस्या छ ।
२२ लाख सवारीसाधनका फाइल डिजिटलाइज गर्न बागमती प्रदेश सरकारले सयजना डाटा इन्ट्रीकर्ता भर्ना गरेको छ । १ पुसदेखि डाटा इन्ट्रीकर्तालाई यातायात कार्यालयमा खटाइएको छ । यातायात कार्यालय गुर्जुधारासहित एकान्तकुना, चितवन, हेटौँडा, बनेपा तथा खुर्काेटमा डाटा इन्ट्रीका लागि करारका कर्मचारी खटाइएका छन् । बागमती प्रदेशमा करिब १६ लाख मोटरसाइकल तथा करिब ६ लाख चारपांग्रे सवारीसाधन दर्ता छन् ।
दुई वर्षभित्र काम सम्पन्न हुने बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । फाइल डिजिटलाइज गर्न करारमा भर्ना गरिएका डाटा इन्ट्रीकर्तालाई विभिन्न यातायात कार्यालयमा खटाइएको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले बताए । ‘भर्ना भएका कर्मचारीले सबै सवारीसाधनको फाइल स्क्यान गरेर राख्नुका साथै सवारीधनी तथा सवारीसाधनको सफ्टवेयरमा विवरणसमेत इन्ट्री गर्नेछन्,’ उनले भने, ‘डेढदेखि दुई वर्षभित्र सबै फाइल डिजिटलाइजेसन गर्ने लक्ष्य छ । यसले यातायातको डाटा सिस्टममा ठुलो सुधार हुनेछ । यातायातको सेवालाई अटोमेसनमा लैजान खोजेका हौँ ।’
फाइल डिजिटलाइज भएपछि सवारीसाधनको बिक्रीमा फाइल खोज्नुपर्ने अवस्था हट्ने र यसले कर तिर्ने प्रणालीलाई पनि सहज हुने यातायातका कर्मचारीको भनाइ छ।
हेर्नुहोस् भिडियो रिपोर्ट: