डा. सूर्य देवकोटा, मुटुरोग विशेषज्ञ हुन् । देवकोटा हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको मनमोहन कार्डियो भास्कुलर थोरासिक एन्ड ट्रान्सप्लान्ट सेन्टर र ग्रिनसिटी अस्पतालमा कार्यरत छन् । उनीसँग स्वस्थ दसैँ कसरी मनाउने भनेर सोधेका छौँ । प्रस्तुत छ, सामान्य अवस्थाका मानिस र रक्तनलीसम्बन्धी रोगीहरूलाई डा. देवकोटाले दिएको सुझाब
दसैँ, तिहारजस्ता ठूला चाडपर्व उमंगको वेला हो । यतिवेला खानपानमा बढी जोड दिने गरिन्छ । विशेषगरी, मासुको प्रयोग बढी हुने गर्छ । चिल्लो, मद्यपान र गुलियोको प्रयोग पनि अरू वेलाभन्दा बढी हुने गर्छ । ठीकविपरीत हामीले शारीरिक गतिविधि र शारीरिक श्रम कम गर्ने गर्छौँ ।
त्यसैले, स्वस्थ दसैँ बनाउन स्वस्थ खानपान सबैभन्दा अनिवार्य सर्त हो । चाडपर्वमा मासु नखानुस् भन्न मिल्दैन । सामान्य अवस्थाका मानिसले पनि यस्तो वेला रातो मासुको प्रयोग कम र सेतो मासुको प्रयोग बढी गर्न म सल्लाह दिन्छु । अझ बुझ्ने गरीभन्दा दुई खुट्टा भएका चराचुरुंगीको प्रयोग बढी गर्नुपर्छ । यसैगरी, माछा खानु तुलनात्मक रूपमा राम्रो हो ।
रातो मासु खानैपर्ने अवस्थामा बोसो र छालारहित खानुपर्छ । यस्तै, मुटु, कलेजोजस्ता भित्री अंगहरू, गिदी खान हुँदैन । भित्री अंगहरूमा अत्यधिक बोसो हुन्छ । यो अवधिमा सागपात, रेसादार हरिया तरकारीहरूको बढी प्रयोग गर्नुपर्दछ ।
रक्तनलीसम्बन्धी रोगहरू भएका बिरामीले मासुको मात्रा कम गर्नैपर्दछ । चिल्लो खानैहुँदैन । रोगी मान्छेलाई चाडपर्व भनेर अस्वस्थ खाना खानैहुँदैन । धूमपान गर्नैहुँदैन भने नियमित शारीरिक कसरत गर्नुपर्दछ ।
म फेरि पनि भन्छु, स्वस्थ दसैँका लागि नुन, चिनी, चिल्लो र रातो मासुको प्रयोग अत्यन्त कम गरौँ । फलफूल, सागसब्जी, तरकारीको प्रयोग बढी गरौँ । शारीरिक सक्रियता नछोडौँ ।
स्वस्थ खानपान अपनाउन सकियो भने दसैँ स्वस्थ बन्नेछ । स्वस्थ जीवनशैली अपनाएर दसैँलाई उल्लासपूर्ण बनाउन सकिनेछ ।