टिपरबाट खसेर सह-चालकको मृत्यु

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

मन्थली नगरपालिका–१ भैश्वेश्वरमा गुडिरहेको प्रदेश नम्बर ३०१००३क ५७६४ नम्बरको टिपरको डालाबाट खसेर सह–चालकको ज्यान गएको छ। आइतबार दिउँसो मन्थली नगरपालिका–१, सुकाजोर खोलाबाट बालुवा लिएर मन्थली नगरपालिका–४, सालुतर्फ जाँदै गरेको टिपरको ढालाबाट लडेर गम्भीर घाइते भएका मन्थली नगरपालिका–४ सालु, अर्चलेका ३२ वर्षीय नारायण बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। 

मन्थलीबाट बालुवा लिएर सालुतर्फ जाँदै गरेको (गुडिरहेको) टिपरको डालामाथि बसेका बस्नेत मन्थलीकै भैश्वेश्वरनजिकै सडकमा खसेका थिए। गम्भीर घाइते भएका बस्नेतको प्रहरीले तत्काल उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। 

घटनापछि प्रहरीले टिपर र टिपरचालक मन्थली नगरपालिका–५, सुनारपानी बस्ने कुमार कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ। 
 

सुझावित समाचार