अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न समिति गठन

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्यीय समिति गठन गरेका छन्। डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिमा दीपकराज सापकोटा, डा. सुनिता मलेकु, डा. मेरिना श्रेष्ठ र डा. अरुण कुँवर सदस्य छन्।

त्यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ र कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ।

समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ। साथै अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ।

समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिको संख्य चार हजार ८८४ रहेको छ। तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झन्डै तीन लाखमा यस्तो समस्या रहेको आकलन गरेको छ।

केही समयअघि अटिजमका क्षेत्रमा कार्यरत विज्ञहरूसँगसमेत मन्त्री पौडेलले अन्तर्क्रिया गर्दै चाल्नुपर्ने कदमबारे राय–सुझाव संकलन गरेका थिए।

See More On

सुझावित समाचार