रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको खोटाङ जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा चयन भएका छन्। रास्वपाले शनिबार साँझ दिक्तेल बजारमा आयोजना गरेको प्रथम जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ लफ्याङनिवासी थापालाई सभापतिमा बहुमतको आधारमा चयन गरेको हो।

थापासँगै डा. राजकुमार राई जिल्ला सभापतिका आकांक्षी देखिएका थिए। थापा र राईमध्ये एकजनालाई जिल्ला कार्यसमिति खोटाङको सभापतिमा चयन गर्न भेलामा सहभागी सदस्यहरूलाई अवसर दिँदा थापाको पक्षमा बहुसंख्यक सदस्यहरू उभिएका हुन्।

दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित जिल्ला भेलाले थापाको नेतृत्वमा दश सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ। समितिको सचिवमा सुमन खत्री, सहसचिवमा राजन अधिकारी तथा सदस्यहरूमा टंककुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल छन्।

एकजना उपसभापति र तीनजना सदस्य पछि समावेशी र भूगोलका आधारमा मनोनयन गर्ने गरी जिल्ला कार्यसमिति चयन गरिएको रास्वपा खोटाङले जनाएको छ। पेसाले सिभिल इन्जिनियर रहेका नवनिर्वाचित सभापति थापा यसअघि संघीय जिल्ला निर्वाचन क्षेत्र समिति सचिवको भूमिकामा थिए।

१० स्थानीय तह रहेको खोटाङमा रास्वपाले यसअघि चार स्थानीय तहमा आफ्नो संगठन विस्तार गरिसकेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकामा रास्वपाले झन्डै पाँच महिनाअघि पालिकास्तरीय समिति गठन गरेको थियो। 

सुझावित समाचार