नीतीशको शतकले भारतलाई राहत

२१ वर्षीय अलराउन्डर नीतीशकुमार रेड्डी आठौँ नम्बरमा शतक बनाउने पहिलो भारतीय खेलाडी बने

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

२१ वर्षीय ब्याटर नीतीशकुमार रेड्डीको शतकप्रेरित भारतले अस्ट्रेलियाविरुद्धको बोर्डर–गवास्कर ट्रफी टेस्टमा राहत पाएको छ । आन्ध्र प्रदेशका दायाँहाते ब्याटरले आठौँ नम्बरमा क्रिजमा पुग्दै भारतलाई ठुलो हारबाट तत्काललाई जोगाएका छन् । उनले तेस्रो दिनको खेल सम्पन्न हुँदा १०५ रन बनाएका छन् । १७६ बलमा १० चौका र १ छक्का प्रहार गरेका छन् । नितिश आठौँ नम्बरमा शतक बनाउने पहिलो भारतीय खेलाडीसमेत बने । योेसँगै उनलाई आन्ध्रप्रदेश क्रिकेट एसोसिएसनले २५ लाख पुरस्कार दिने घोषणा गरेको छ । उनी शतक बनाउने तेस्रो कान्छा खेलाडी पनि हुन् । 

नीतीशलाई दशौँ नम्बर क्रिजमा पुगेका मोहम्मद सिराजले दुई रन बनाएर साथ दिएका छन् । दोस्रो दिनको खेल सम्पन्न हुँदा भारतले ९ विकेट गुमाउँदै ३५८ रन बनाएका छन् । भारत अझै घरेलु टोलीसँग ११६ रनले पछि छ । यसअघि अस्ट्रेलियाले स्टेभ स्मिथको शतक मद्दतमा ४७४ रन बनाएको थियो । दुई टोलीबिच हुने पाँच सिरिज हाल १–१ को बराबरीमा छ । पहिलो टेस्ट भारतले २ सय ९५ रनले जितेको थियो । अस्ट्रेलियाले दोस्रो टेस्ट १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको छ । 

नीतीश र वासिङटनले जोगाए फलोअन
दोस्रो दिनको खेल सम्पन्न हुँदा पाँच विकेट गुमाएर भारतले जम्मा १६४ रन बनाएको थियो । यससँगै भारतलाई फलोअनको दबाब थियो । तर, नितिश र वासिङटन सुन्दरले तेस्रो दिन १२७ रनको साझेदारी गरेपछि भारत फलोअनबाट जोगिएको हो । भारतका लागि दोस्रो दिन यशस्वी जैसवालले ८२ बनाएका थिए । मध्यक्रमका खेलाडी चल्न नसक्दा नितिश र वासिङटनले भारतको इनिङ जोगाएका हुन् । वासिङटन ५० रन बनाएर आउट भएका छन् । कप्तान रोहित शर्मा ३, केएल राहुल २४, विराट कोहली ३६, आकाश दीप डक, ऋषभ पन्त २८, रवीन्द्र जडेजा १७ रन बनाएर आउट भएपछि भारत दबाबमा आएको हो । 

सुझावित समाचार