आइएमई समूहको लगानीमा कैलाली, चिसापानीमा केबुलकार निर्माण हुने भएको छ । चिसापानीमा निर्माण हुने जालपादेवी केबुलकारको शनिबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शिलान्यास गरेकी हुन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. देउवाले जालपादेवी केबुलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । उनले भनिन्, ‘सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । यहाँ बन्ने केबुलकार, होटेलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठुलो उपलब्धि हुनेछ ।’
त्यस्तै, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबुलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।
जालपादेवी केबुलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा मुलुकको कायापलट गर्न सम्भव रहेको बताए । उनले भने, ‘पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याई पर्यटकको बसाइ लम्ब्याएर थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजस्व उठाउन सकिन्छ र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।’
लम्कीचुहा नगरपालिका वडा नं ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबुलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कुल पाँच अर्ब रुपैयाँ लगानी हुने केबुलकारको बटम स्टेसनमा केबुलकार, होटेल, क्यासिनो, ब्यांक्वेट हल निर्माण हुनेछन् ।