मकवानपुरको कैलाशबाट पूर्ण सरसफाइ उन्मुख टोल अभियान सुरु

शनिबार, १३ पुष, २०८१
डिजिटल संस्करण

खानेपानी तथा सरसफाइका तोकिएका सूचकको पालना गर्दै मकवानपुरको कैलाश गाउँपालिकाले शुक्रबारबाट विभिन्न टोलबाट पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु गरेको छ ।  

मकवानपुरमै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएकोमा शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले कैलाश गाउँपालिका–९ को बिर्ता, अम्बोटे र बरेटार टोललाई पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको जानकारी दिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विकट गाउँमा खानेपानीको पहुँचबाटै टाढा रहेको नागरिकलाई खानेपानी र सरसफाइ सम्बन्धी काम गर्नु चुनौतीपूर्ण भएता पनि आरआरएनसँगको सहकार्यमा टोलटोलमा काम गर्न सफलता मिलेको बताए ।

उनले हरेक टोललाई पूर्ण सरसफाइ र सुरक्षित खानेपानीयुक्त टोल बनाउनको लागि संस्थासँग निरन्तर सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । मकवानपुरमै पहिलोपटक कैलाशबाट अभियान सुरु गर्न पाउँदै खुशि लागेको उल्लेख गर्दै अध्यक्ष मोक्तानले टोलबाट सुरु भएको अभियान वडा हुँदै पालिकासम्म पुग्ने र वडा घोषणा सँगै पालिका घोषणा गर्ने लक्ष्य रहेको बताए । ‘हामीले यस अघि मकवानपुरमै पहिलो पटक चेली प्रोत्साहन कार्यक्रम सुरुवात गरेका थियौं, अहिले खानेपानी र सरसफाइ सम्बन्धी अभियान सुरु गर्न पाउँदा खुशि लागेको छ,’ उनले भने ।

नेपाल ग्रामीण पुनर्निमाण संस्था (आरआरएन)सँगको सहकार्य र कैलाश गाउँपालिले सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा गरिएको हो । मकवानपुर जिल्लाको पहाडी क्षेत्रमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रणालीको सुद्धीकरण र व्यवहार परिवर्तन परियोजनाअन्तर्गत आरआरएनले कैलाशमा अभियान चलाएको थियो । 

गाउँपालिका कार्यालयसँग सहकार्यमा टोलहरुमा खानेपानी र स्वच्छतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, आरआरएनका कार्यक्रम संयोजक लीलबहादुर कार्की, कैलाश–९ मा वडाध्यक्ष भुवनसिं घलान लगाएतले अभियानले गाउँपालिकाको स्वच्छता र स्वास्थ्यमा टेवा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

See More On

सुझावित समाचार