बागमती सिटिइभिटीको कार्यकारी निर्देशकमा लामा नियुक्त

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सिटिइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्त गरेको छ। 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको म्यागङ गाउँपालिका–४ की लामालाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

प्रदेशको सामाजिक विकास मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत दरखास्त आह्वान गरी परीक्षा तथा अन्तरवार्तासमेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवार सिफारिस गरेको थियो। 

मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो।

समितिको सिफारिसअनुसार दखास्त परेको ७ जनाबाट ५ जनाको नाम संक्षिप्त सूचीमा तयार गरेर परीक्षा सञ्चालन गरेको थियो भने गत पुस १ मा अन्तर्वार्ता लिएर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको थियो। 

सोही सिफारिसअनुसार लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेले बताए। प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य हुन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। 

मन्त्री लामिछानेका अनुसार सिफारिस समितिले लामासहित मध्यपुरठिमी नगरपालिका–९ का बद्रीप्रसाद दहाल र भरतपुर–१०, चितवनका ईश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो।

सुझावित समाचार