समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का राखेको छ । बिहीबार बिहान १०:२९ बजे नेप्सेले कारोबार रोक्का गरेको सूचना जारी गरेको हो । गत मंगलबार यस बैंकको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा खरिद–बिक्री भएको थियो । 

यो विकास बैंकलाई बुधबार राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको थियो । नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको पत्र नेपाल स्टक एक्सचेन्जलाई बुधबार नै पठाएकाे थियाे ।

समस्याग्रस्त घोषित विकास बैंकमा सर्वसाधारणको पाँच अर्ब १८ करोड रुपैयाँ निक्षेप जम्मा भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले यो बैंकलाई ‘समस्याग्रस्त संस्था’ घोषणा गर्ने निर्णय गरेको हो । कर्णाली विकास बैंकबाट हालसम्म तीन अर्ब ६९ करोड ९२ लाख कर्जा प्रवाह भएको छ । 

बैंकको तरलतामै समस्या देखिएपछि सर्वसाधारणको निक्षेप सुरक्षित गर्न व्यवस्थापन नियन्त्रणमा लिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले जानकारी दिए । उनले भने, ‘सर्वसाधारणमा त्रासपूर्ण अवस्था नआओस् भन्ने उद्देश्यले वेलैमा समस्याग्रस्त घोषणा गरेका हौंँ । अब केन्द्रीय बैंकको टिमले यसका व्यवस्थापकीय जिम्मेवारी लिनेछ ।’

गत ६ साउनदेखि ११ साउनसम्म केन्द्रीय बैंकले कर्णालीमा लक्षित निरीक्षण गरेको थियो । निरीक्षण प्रतिवेदनले समस्याउन्मुख देखाएपछि गत ११ मंसिरमा ६ महिनाभित्र नयाँ व्यवस्थापनले वित्तीय परिसूचकमा सुधार गर्ने सर्तमा थप निक्षेप संकलन गर्न, नयाँ खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको थियो ।

सुझावित समाचार