कुशलले युएईको इन्टरनेसनल लिग टी–२० खेल्ने

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी–२० खेल्ने भएका छन् । सन् २०२५ को जनवरीदेखि सुरु हुने टी–२० लिगमा कुशलले डेजर्ट भाइपर्ससँग सम्झौता गरेका छन् । उनले नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेको स्थान लिने छन् । गत साता त्रिवि क्रिकेट मैदानमा भएको नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा दौरान घाइते भएका लिडेको स्थानमा कुशलले प्रतिस्पर्धा गर्ने भाइपर्सले जनाएको छ । लिडे एनपिएलमा पोखरा एभेन्जर्समा आबद्ध भएका थिए ।

भाइपर्सले एक सिजनका लागि कुशललाई २० हजार अमेरिकी डलर दिनेछ । टी–२० लिगमा कुशलबाहेक नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि आबद्ध छन् । दीपेन्द्रले गत सिजन गल्फ जायन्टबाट खेलेका थिए । यस सिजनका लागि गल्फ जायन्टले उनलाई रिटेन गरेको छ । डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले भने नेपालका युवा खेलाडी कुशललाई अनुबन्ध गर्न पाउँदा खुसी लागेको बताए । ‘हामीले नेपालका युवा खेलाडीलाई भिœयाएका छौँ, उनीसँग महŒवपूर्ण अनुभव छ,’ मुडीले भने । 

२० वर्षीय कुशलले एनपिएलमा चितवन राइनोजको कप्तानी गरेका थिए । उनकै ब्याटिङ अलराउन्डर प्रदर्शनको सहयोगमा चितवनले एनपिएलको प्लेअफ स्थान पक्का गरेको थियो । तर, प्लेअफमा कर्णाली याक्ससँग चितवन पराजित भयो । एनपिएलमा सर्वाधिक रन प्रहार गर्ने नेपाली खेलाडीमा उनी चौथो स्थानमा रहे । उनले ८ खेलमा २२४ रन र बलिङमा ९ विकेट लिएका थिए ।

२०२० मा एकदिवसीयमा डेब्यु
कुशलले नेपाली राष्ट्रिय टोलीबाट सन् २०२० को फेब्रुअरीमा अमेरिकाविरुद्ध डेब्यु गरेका थिए । बायाँहाते ब्याट्सम्यान र बायाँहाते स्पिन बलर कुशलले १५ वर्ष र ३४० दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । नेपालका लागि उनी टी–२०आईमा पाँचौं सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ४७ खेलमा एक शतक र चार अर्धशतक साथ ९१७ रन बनाएका छन् । सन् २०२३ को चीनमा भएको १९औँ एसियाली खेलकुदमा उनले मंगोलियाविरुद्ध नटआउट १३७ रन शतकीय इनिङ्स खेलेका थिए । यसक्रममा उनले आठ चौका र १२ छक्का प्रहार गरेका थिए । टी–२० आईमा कुशलको व्यक्तिगत शतकीय योगफल पुरुषतर्फ तेस्रो ठुलो हो ।

श्रीलंकालीदेखि इंग्लिस खेलाडीसम्म
कुशल आवद्ध भाइपर्स अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन् । श्रीलंकाका बिनन्दु हसरंगा र इंग्ल्यान्डका साम कुरान पनि यसै टोलीमा छन् । यसैगरी एलेक्स हल्स, लकी फगुर्सन, मोहमद अमिर र ड्यान लाउरेन्सले भाइपर्सबाट खेल्नेछन् । आइएल टी–२० युएईको फ्रेन्चाइज क्रिकेट लिग हो । सन् २०२३ को पहिलो सिजन उपविजेता भाइपर्स बनेको थियो । यस सिजनको पहिलो खेल १२ जनवरीमा अबुधाबीको जायेद क्रिकेट स्टेडियममा अबुधाबी नाइट राइडर्ससँग भाइपर्सले खेल्नेछ । 

सुझावित समाचार