४६ प्रश्नको जवाफसहित वडाकेन्द्रित अभियानमा जाँदै एमाले

माघदेखि चैतसम्म जिल्ला, प्रदेश र जनसंगठनका नेतृत्वसँग सुझाव लिइने, केन्द्रीय कमिटी बैठक बोलाउने तयारी

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

एमालेले जिल्ला, प्रदेश र जनसंगठनका नेतृत्वसँग सुझाव लिएर तीनमहिने वडाकेन्द्रित अभियान चलाउने तयारी गरेको छ । दशवटा विषयमा ४६ प्रश्नमार्फत सुझाव लिएर एमालेले आगामी सचिवालय र केन्द्रीय कमिटी बैठकबाट अभियान चलाउने निर्णय गर्ने तयारी गरेको हो । 

आगामी माघदेखि चैतसम्म चलाइने अभियानका लागि केन्द्रीय संगठन विभागले सुझावको वर्गीकरण गर्दै प्रस्तावको तयारी गरिरहेको छ । अभियानसहितका विषयमा निर्णयका लागि एमालेले १० पुसमा केन्द्रीय सचिवालय र २०–२१ पुसमा केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय सदस्य तथा संगठन विभागका सचिव माधव ढुंगेलले देशभरिका कार्यकर्ताबाट केन्द्रीय कार्यशालामा मागिएको लिखित प्रतिवेदनलाई साझा रूपमा मूर्त रूप दिएर केन्द्रीय कमिटी बैठकका लागि प्रस्तावका रूपमा बुझाइने र बैठकले पारित गरेपछि अभियान पुस्तिकाका रूपमा कार्यान्वयनमा लैजाने गरी विभागको स्टेरिङ कमिटीमा छलफल चलिरहेको बताए ।

‘देशभरिबाटै लिखित रूपमा मागिएको रिपोर्टमाथि अहिले संगठन विभागको स्टेरिङ कमिटीमा अध्ययन भइरहेको छ । हामी शीर्षकगत रूपमै सम्बोधन गरेर समाधानका लागि केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीलाई प्रस्तावका रूपामा सुझाव दिन्छौँ,’ ढुंगेलले भने, ‘प्रस्ताव पारित भएपछि अभियानसम्बन्धी अलग्गै पुस्तक तयार पारेर हामी देशव्यापी रूपमा तीनमहिने अभियानमा केन्द्रित हुन्छौँ ।’

अभियानको तयारीकै सिलसिलामा एमालेको केन्द्रीय संगठन विभागले गत २९ मंसिरमा दुईदिने केन्द्रीय कार्याशाला गरेको थियो । कार्यशालाले वडाकेन्द्रित अभियानसहितको ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको थियो । जसअनुसार निर्णयक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैतसम्म तीनमहिने ‘वडाकेन्द्रित अभियान’ सञ्चालन गर्ने, आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प प्रस्ताव पास गरेको थियो । त्यस्तै, आगामी चैतभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढंगले सदस्यता नवीकरण सम्पन्न गर्ने, ०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने, आगामी चैत मसान्तसम्म राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्ने तथा पार्टी र नेतृत्वविरुद्ध षड्यन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प प्रस्ताव पनि कार्यशालाले पास गरेको थियो । 

अभियानलाई सफल पार्न पहिले समस्या पहिचान गरेर प्रस्ताव अगाडि बढाउन एमालेले कार्यकर्तालाई दशवटा शीर्षकमा प्रश्न सोधेको थियो । तर, संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टीभित्र काममा समस्या भएर प्रश्न सोधिएको वा अभियान गर्ने निर्णय नभएको प्रस्ट्याए । आगामी ०८४ भित्र पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मुख्य उद्देश्य पूरा गर्न वडा र टोल तहसम्मका कमिटीलाई काममा केन्द्रित गराउन अभियान गर्न लागिएको उनको भनाइ छ । 

‘हाम्रा कमिटीहरू नियमित काममा लागेकै छन्, त्यसैले नियमित काममा समस्या भएर वडाकेन्द्रित अभियान गर्न लागिएको होइन । अझ गति बढाउने ध्येय मात्र हो,’ उनले भने, ‘पार्टीले निर्णायक राष्ट्रिय शक्ति बनाउन जोड दिएकाले त्यसअनुसार तलका कमिटीहरूलाई पनि जोडका साथ काममा केन्द्रित गराउने उद्देश्यले मात्र अभियान गर्ने तयारी गरिएको हो ।’ 

अभियान घोषणाका लागि आयोजित कार्यशालामा केन्द्रीय संगठन विभागका १७ जना र नौ प्रदेश कमिटीका अध्यक्ष र सचिव, संगठन विभाग प्रमुख, उपप्रमुख, पदाधिकारी महिलासहित थप एक महिलासमेत गरी प्रदेश कमिटीबाट ४४ जना सहभागी थिए । जिल्ला कमिटी अध्यक्ष, सचिव र संगठन विभाग प्रमुखसमेत १७६ जना, २३ वटा जनसंगठनका अध्यक्ष र महासचिवसमेत ४६ जना सहभागी थिए ।

एमालेले ०८० मै पार्टी कमिटीलाई चलायमान र पुनर्जागृत गर्न मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियान चलाएको थियो । अभियानलगत्तै एमालेको संगठन विभागले अहिले पाँच लाखहाराहारी रहेको पार्टी सदस्यलाई १० लाख पु¥याउने गरी आन्तरिक गृहकार्य गरेको छ । त्यस्तै, एमालेले केन्द्रीय कमिटीबाटै सबै वडामा प्रतिभावान् युवालाई पार्टीमा भिœयाउने, विशेषतः महिला र युवाहरूको संख्या उल्लेख्य विस्तार गर्ने गरी सदस्यता वितरण गर्ने कार्ययोजना पास गरेको थियो । 

अनुशासन, गुटबन्दी, कार्यशैलीदेखि चरित्रसम्मका विषयमा प्रश्न
एमालेले देशभरका नेताहरूसँग अनेक प्रश्न सोधेको थियो । जसअनुसार पहिलो विषय पार्टी सदस्यसँग सम्बन्धित ६ वटा प्रश्न सोधिएका थिए । कुल मतदाताको ६ प्रतिशत सदस्य कसरी पु¥याउने, युवा र महिलाको सदस्यता बढाउने के गर्ने, आगामी चैतभित्र सदस्यता नवीकरण कसरी गर्ने, सदस्यताको अनलाइन अभिलेखीकरणमा के कठिनाइ छ, कसरी भरपूर एप्स प्रयोग गर्ने बनाउने, कस्ता पाठ्यक्रमबाट सबै सदस्यलाई प्रशिक्षित गर्ने, सबैलाई जिम्मेवारी दिएर कसरी परिचालन गर्नेजस्ता प्रश्न सोधिएका थिए । 

त्यस्तै, कमिटीसँग सम्बन्धित सातवटा प्रश्नमा अधिवेशनलाई कसरी पार्टी निर्माणको थलो बनाउने ? नियमित बैठक र निर्णयक कार्यान्वयनका समस्या, व्यक्ति कमिटीप्रति जवाफदेही नहुने समस्या, टोल कमिटी निर्माण र परिचालनको समस्याका विषय सोधिएका थिए । त्यस्तै, पार्टी अनुशासन र पद्धतिसँग सम्बन्धित अनुशासन पालनामा सदस्यलाई गम्भीर बनाउन देखिएका समस्या, पार्टी कामको अनुगमन तथा मूल्यांकनसँग सम्बन्धित कमिटी र व्यक्तिको मूल्यांकन तथ्यपरक र वस्तुनिष्ठ बनाउने तरिका, व्यक्तिको मूल्यांकन र जिम्मेवारी, कामको अनुगमनसँग सम्बन्धित प्रश्न सोधिएका थिए । 

त्यस्तै, असन्तुष्टि, अन्तर्विरोधसँग सम्बन्धित प्रश्नहरूमा कमिटीभित्र उत्पन्न हुने मनमुटाव, अन्तर्विरोध र गुटबन्दीलाई कसरी बुझ्ने र वर्गीकरण गर्ने, शीघ्र समाधानका प्रभावकारी उपाय के–के हुन सक्छ, आन्तरिक समस्या समाधानमा सम्बन्धित कमिटीका इन्चार्जले कस्तो भूमिका खेल्नुपर्ला, कार्यशैली, जीवनशैली र आचारणसँग सम्बन्धित आर्थिक आचरण र चारित्रिक आचरणमा गल्ती गर्नेलाई कसरी कारबाहीको दायरामा ल्याउन सकिएला, नेता–कार्यकर्ता र सदस्यको जीवनशैली र कार्यशैलीलाई कसरी जनप्रिय बनाउन सकिएलाजस्ता प्रश्न सोधिएका थिए । 

आर्थिक–सामाजिक रूपान्तरण र जनचासोका विषयसँग सम्बन्धित पार्टी कमिटीले विकास निर्माण र जनताको ज्वलन्त समस्यालाई कसरी कार्यसूचीका विषय, जनप्रतिनिधिको भूमिका प्रभावकारी बनाउनेसँग सम्बन्धित विषय, जनसंगठनको कामसँग सम्बन्धित तल्लो तहमा अपेक्षित काम जनसंगठनले गर्न नसक्नुको कारण, पार्टीलाई जरैदेखि बलियो बनाउन के गर्ने, वडामा सम्भावना बोकेका युवाहरूको रोस्टर उतार्ने र युवा नेतृत्व विकासका लागि योजनाबद्ध प्रशिक्षण चलाउने धेरै अघिदेखिको पार्टी केन्द्रको निर्देशनको कार्यान्वयन कसरी गर्नेजस्ता विषय पनि प्रश्नहरूमा समेटिएका थिए । 

१६ वटा जनसंगठनको राष्ट्रिय महाधिवेशन गराउने ‘वार्मअप’
एमालेले कार्यकाल गुजार्दै गरेका १६ वटा जनवर्गीय संगठनको महाधिवेशन आगामी वैशाखभित्र सम्पन्न गराउने तयारी सुरु गरेको छ । जनवर्गीय संगठनलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएर निर्देशन दिँदै एमालेले वैशाखभित्र महाधिवेशन गराउन निर्देशन दिएको हो । एमालेका २३ वटा जनवर्गीय संगठनको कार्यकाल तीन वर्ष हुने गर्छ । तीमध्ये ०७८ मा राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल र प्रेस चौतारी नेपालसहित १६ वटा जनवर्गीय संगठनको कार्यकाल ०८१ भित्र सकिँदै छ ।

गत आइतबार केन्द्रीय कार्यालयमा पार्टी महासचिव शंकर पोखरेलको उपस्थितिमा सबै जनसंगठनका इन्चार्ज र अध्यक्षको संयुक्त बैठक आयोजना गरेर मोर्चा संगठनले अधिवेशनको मिति प्रस्ताव गर्न निर्देशन दिएको थियो । केन्द्रीय सदस्य तथा मोर्चा संगठनकी सदस्य रचना खड्काले महासचिव पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले आगामी वैशाखभित्र १६ वटा जनवर्गीय संगठनले अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको बताइन् । 

‘०७८ मा अधिवेशन भएर कार्यकाल गुजार्दै गरेका १६ वटा जनसंगठनले वैशाखभित्र अधिवेशन गर्नुपर्ने मोर्चा संगठनको बैठकबाट निर्णय गरिएको छ,’ उनले भनिन्, ‘कतिपय जनसंगठनले बैठकमै अधिवेशनको मिति प्रस्ताव गर्नुभएको छ भने कतिपयले छिट्टै बैठक राखेर निर्णय गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’ उनले जनसंगठनलाई गतिशील र पुनव्र्यवस्थित गर्ने पार्टी नीति र नियमित कामअन्तर्गत नै अधिवेशन आयोजना हुने गरी तयारी अगाडि बढाइएको समेत जानकारी दिइन् । 

मोर्चा संगठनका संयोजक स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यकाल गुजार्दै गरेका जनसंगठनले अधिवेशनको मिति तय नगरे हस्तक्षेप हुन सक्ने सन्देश दिएका थिए । ‘कार्यकाल गुजार्दै गरेका जनसंगठनले विधानअनुसार आगामी वैशाखभित्र महाधिवेशन गरिसक्नुपर्छ, गर्नुभएन भने हामीले नै आयोजक कमिटी बनाउनुपर्ने पनि हुन सक्छ, त्यस्तो अवस्था आउने गरी पार्टीलाई बाध्य नपार्नुहोला,’ उनको भनाइ थियो ।

सबै जनसंगठनलाई पार्टीले आगामी माघदेखि चैतसम्मका लागि अगाडि सारेको वडाकेन्द्रित अभियानमा सक्रिय बन्न, अधिवेशन तयारीलाई सदस्यता विस्तार र सामुदायिक मुद्दाको पहिचान र सम्बोधनका लागि सक्रिय पहलकदमी लिनसमेत महासचिव पोखरेलले निर्देशन दिएका छन् । 

वैशाखभित्र अधिवेशन गर्न निर्देशन दिइएका जनसंगठन 
राष्ट्रिय युवा संघ, अनेरास्ववियु, प्रेस चौतारी नेपाल, मानव अधिकार तथा सामाजिक न्याय मञ्च, राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल, प्रोगेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल, प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, भूमि अधिकार तथा श्रमिक संगठन, नेपाल बुद्धिजीवी परिषद्, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल उद्योग तथा व्यवसायी महासंघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, राष्ट्रिय अपांगता संगठन, नेपाल मुस्लिम इत्तेहाद संगठन, रिटर्नी फेडेरेसन नेपाल ।

अर्को वर्ष अधिवेशन हुने जनसंगठन 
अनेमसंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल खेलकुद महासंघ, अखिल नेपाल पिछडा वर्ग महासंघ, पेसागत महासंघ नेपाल ।

See More On

सुझावित समाचार