२१ रोपनी हदबन्दीको जग्गा बिक्रीमा अख्तियारले थाल्यो छानबिन

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण
२१ रोपनी हदबन्दीको जग्गा बिक्रीमा अख्तियारले थाल्यो छानबिन

ट्रुंगरम इन्टरनेसनल एकेडेमीको नाममा ललितपुर लामाटारमा रहेको २१ रोपनी जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा रोक्का रहेकै अवस्थामा बिक्री भएको थियो ।

विद्यालयको नाममा रहेको हदबन्दीभन्दा धेरै २१ रोपनी जग्गा मालपोतका कर्मचारीको मिलेमतोमा बिक्री गरेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान अघि बढाएको छ । ट्रुंगरम इन्टरनेसनल एकेडेमीको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका–९, लामाटारमा रहेको जग्गा रोक्का रहेकै अवस्थामा बिक्री भएको थियो ।

हदबन्दीभन्दा धेरै जग्गा जफत हुनबाट जोगाउनका लागि मालपोतको मिलेमतोमा नयाँ कम्पनी खडा गरी बिक्री भएको थियो । यो विषयमा गत भदौमा नयाँ पत्रिकाले समाचार प्रकाशन गरेको थियो । समाचारलाई समेत आधार बनाएर विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियार स्रोत बताउँछ ।

ध्यान भिल्ला, शिला डेभलपर्सका नाममा जग्गा बिक्री गरिएको  हो । ती कम्पनीहरू विद्यालयका प्रमुख सञ्चालक ट्रुंगरम ग्याल्टुङ रिम्पोचे शेर्पानिकटस्थ व्यक्तिहरूको नाममा छ । उनले हदबन्दीभन्दा धेरै जग्गा बेच्नकै लागि यसरी मालपोत कार्यालयलाई प्रभावमा पारी आफ्ना निकटस्थ कम्पनीहरूलाई बिक्री छानबिनमा खुलेको छ ।  विद्यालयको नाममा ललितपुर र भक्तपुरमा करिब सय रोपनी जग्गा रहेकामा त्यो हदबन्दीभन्दा धेरै रहेकाले रोक्कामा थियो ।

सो विद्यालयको हदबन्दीभित्र पर्ने भक्तपुरको करिब २९ रोपनी जग्गा पाँच वर्षअघि बिक्री भएको थियो । अनुमति नलिई अरू जग्गा राखेकाले भूमिसम्बन्धी ऐनअनुसार जफत हुने प्रावधान छ । रोक्का राखेकै अवस्थामा बिक्री गरेकाले मालपोत कर्मचारीलाई पनि अख्तियारले छानबिनमा तानेको छ ।

६ पुस ०७९ मा शिला डेभलपर्स कम्पनीलाई १४ रोपनी १३ आना तीन पैसा तीन दाम र ध्यान भिल्लालाई ६ रोपनी सात आना दुई पैसा जग्गा बिक्री गरेको थियो । त्यसबाट पनि अन्य कम्पनीको नाममा जग्गा लैजाने प्रक्रियाका लागि राजस्वसमेत तिरिसकेकोमा उजुरी परेपछि रोकिएको थियो ।

भूमिसम्बन्धी ऐन, २०२१ अनुसार काठमाडौं उपत्यकामा २५ रोपनी जग्गा र थप पाँच रोपनी घरबारी मात्र राख्न पाइन्छ । तर, कम्पनी तथा संस्थाहरूले नेपाल सरकारको स्वीकृति लिई राख्न पाउने र उद्देश्यअनुसार प्रयोग गर्नुपर्ने ऐनको दफा १२ मा उल्लेख छ । सोही दफाअनुसार विद्यालयको पूर्वाधार बनाउन भनेर हदबन्दीभन्दा धेरै जग्गा ०५२ मै खरिद भएको देखिन्छ । तर, ती जग्गा विद्यालयको काममा प्रयोग भएकोसमेत छैन । विदेशबाट विद्यालयको नाममा आएको सहयोगबाट यसरी जग्गा खरिद गरी व्यक्तिगत कम्पनीमा लगिएको छानबिनमा देखिएको छ । सो जग्गाको विषय र विद्यालयको विवादका विषयमा केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा समेत उजुरी परेको छ । अख्तियारको छानबिन र सिआइबीको अनुसन्धानमा अख्तियारकै आयुक्त सुमित्रा अमात्य श्रेष्ठले अनावश्यक दबाब दिइरहेको अनुसन्धानमा आबद्ध अधिकारीहरू बताउँछन् ।

उता रोक्का राखेर छानबिन भइरहेको जग्गामा हाल भवन निर्माण कार्य अघि बढाइएको छ । ध्यान भिल्ला कम्पनीले सो जग्गामा भवन बनाउन थालेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्याल हदबन्दीभन्दा धेरै भएर रोक्का रहेको जग्गामा निर्माण कार्य गर्न नमिल्ने बताउँछन् । ‘यस्तो जग्गाको पुर्जामा नै रोक्का लेखिएको हुन्छ, जसकारण निर्माणका लागि स्थानीय तहले अनुमति दिन मिल्दैन, यदि कसैले बनाएको अवस्थामा जग्गासँगै भवन पनि जफत हुन्छ ।’ महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जयकृष्ण बोगटीले जग्गा रोक्का रहेकोबारे जानकारी नभएकोले निर्माणका लागि स्वीकृति दिइएको बताउँछन् ।  

See More On

सुझावित समाचार