गृहमन्त्री रमेश लेखकले चरणबद्ध छलफलपछि सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन्।
मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले संविधान संशोधन केही दिनमा हुने विषय नभएको बताए। संविधानको १० वर्षे अभ्यासको समीक्षा गरी सबै राजनीतिक दलसँगको सहमतिमा मात्रै संविधान संशोधन गरिने उनको भनाइ छ।
‘हामी छलफल प्रारम्भ गर्छौँ, संविधानको समीक्षा गर्छौँ, विषयवस्तुको पहिचान गर्छौँ, चरणबद्ध रूपमा यसलाई अघि बढाउँछौँ,’ उनले भने, ‘सबैभन्दा पहिले संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौँ। अर्को चरणमा विषयहरूको पहिचान गर्छौँ। त्यसपछि अर्को चरणमा हामी सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ। त्यसपछि विषयवस्तुहरूमा सहमति गरेर मात्रै संविधान संशोधन हुन्छ। यसमा समय लाग्छ, भोलिको पर्सि संविधान संशोधन हुने होइन।’
गृहमन्त्री लेखकले संविधान संशोधनले समावेशितालाई कमजोर बनाउने नभई थप सुदृढ गर्ने स्पष्ट पारे।