वर्तमान गठबन्धन सरकार ०८४ सम्मै रहन्छ : मन्त्री खड्का

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। मंगलबार संखुवासभाको सदरमुकाम खाँदबारीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले वर्तमान सरकार कुनै पनि हालतमा नढल्ने ठोकुवा गरेका हुन्। उनले मुलुकका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार भएकाले कसैले चाहँदैमा नढल्ने स्पष्ट पारे।

‘सरकार ढल्दै छ भन्ने बजारमा हल्ला सुनिन्छ। कहिले भारतबाट फर्किएपछि ढल्छ, कहिले चीनबाट फर्किएपछि ढल्छ भनेको सुन्छु। यो सरकार ढल्दैन। हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्दछु। यो सरकार आगामी निर्वाचन ०८४ सम्म जान्छ, ढुक्क रहन सबैमा आग्रह गर्दछु,’ मन्त्री खड्काले भने, ‘कांग्रेस र एमालेको आलोपालो सरकार हो, त्यसैले टिक्छ । सरकारको विकल्प भनेको निर्वाचन हो।’

मितेरी पुल र किमाथांकादेखि खाँदबारीतर्फ आउने सडक निर्माणका लागि चीन सरकारले सहयोग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा समझदारी बनेको मन्त्री खड्काले बताए। उनले संखुवासभाको उत्तरी क्षेत्रको विकासमा चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको उल्लेख गरे।

त्यसैगरी मन्त्री खड्काले गरिबीको रेखामुनि रहेका नेपालीहरूलाई जलविद्युतमा निःशुल्क सेयर हाल्ने नियम बनाएकोसमेत बताए। मन्त्री खड्काले संखुवासभा ऊर्जा र जलस्रोतको पर्याप्त संम्भावना रहेको जिल्ला भएकाले यसबाट संखुवासभालीले लाभ लिने गरी १०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनाबाट स्थानीयलाई निःशुल्क रूपमा पाँच लाखसम्मको सेयर सुनिश्चित गर्ने काम अगाडि बढाएको बताए।

मन्त्री नियुक्त भएपछि मन्त्री खड्का दोस्रोपटक गृहजिल्ला संखुवासभा आएका हुन्। उनी कांग्रेसका संस्थापक, सन्तनेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती र पार्टीको सयदिने सांगठनिक अभियान घोषणा कार्यक्रममा सहभागी हुन हिजो सोमबार संखुवासभा आएका हुन्। मन्त्री खड्काले मंगलबार जिल्ला प्रशासनसहित जिल्लास्थित सबै कार्यालय प्रमुखहरूसँग छलफल गरी नागरिकको काममा ढिलाइ नगर्न आग्रह गरेका थिए।

सेवाग्राहीको कुनै गुनासो नहुने गरी काम गर्न आग्रह गर्दै विकासे कार्यालयहरूले हिउँद समयमा नै काम सम्पन्न गर्ने गरी लाग्न मन्त्री खड्काले निर्देशन दिए। उनले संखुवासभामा क्रियाशील राजनीतिक दलहरूसँग समेत सर्वदलीय छलफल गरेका थिए। उनी आजै काठमाडौं फर्किएका छन्।

सुझावित समाचार