मुगुमा अर्को निकुञ्ज वा सिकार आरक्ष बनाउन अध्ययन कार्यदल गठन

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

वन तथा वातावरण मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै मुगु जिल्लामा थप निकुञ्ज वा सिकार आरक्षण क्षेत्र बनाउन कार्यदल गठन गरेको छ । सोमबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहिले मन्त्रीस्तरीय निर्णय गर्दै मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने केही भूभाग समेटेर निकुञ्ज वा सिकार आरक्ष के बनाउन सकिन्छ त्यसका लागि अध्ययनका लागि कार्यदल बनाएका हुन् ।

मुगुम कार्मारोङ गाउँपालिकाले गाउँ सभाबाट निर्णय गर्दै से-फोक्सुन्डाे राष्ट्रिय निकुञ्जले गाउँपालिकाको ओगटेको भूभागसहित अन्य भूभाग समेटेर सिकार आरक्ष वा संरक्षित क्षेत्र वा राष्ट्रिय निकुञ्ज बनाउने निर्णयसहित आग्रह गर्दै मन्त्रालयमा कागजात पेस गरेको थियो । 

कार्यदलले अध्ययन गरेर के बनाउन उपयुक्त हुन्छ भनेर सुझाव दिन्छ सोहीअनुसार मन्त्रालय अघि बढ्ने वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले बताए । से फोक्सुन्डो राष्ट्रिय निकुञ्जले मुगुको ८२९ वर्गकिलाेमिटर क्षेत्र ओगटेको छ।

यो मुगुम कार्मारोङ क्षेत्र वन्यजन्तुहरूको प्रमुख वासस्थान र आहार क्षेत्र मानिन्छ, यहाँ विभिन्न जातिका वन्यजन्तुहरू पाइन्छन् । यो क्षेत्रमा हुलका हुल वन्यजन्तु देखिने भएकाले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरू यो क्षेत्रलाई खुला चिडियाखाना भनेर भन्ने गर्दछन् । मुगु जिल्लामा देशकै सानो राष्ट्रिय निकुञ्ज रारा पर्दछ भने यही निकुञ्जभित्र नेपालकै ठुलो राराताल पनि रहेको छ ।

मुगुम कार्मारोङ गाउँपालिकाको केही भाग समेटेर राष्ट्रिय निकुञ्ज वा सिकार आरक्ष बनेमा मुगु जिल्लामा दुईवटा संरक्षित क्षेत्र हुनेछन् । नयाँ बन्ने निकुञ्ज वा सिकार आरक्षण क्षेत्रभित्र तामाखानी र डोल्फु कर्णाली नदी पर्नेछन् ।

यहाँ घोरल, झारल, कस्तुरी, मृग, चौँरी, हिमचितुवालगायत वन्यजन्तुहरू पाइने गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी गराए । मुगुम कार्मारोङ क्षेत्रको केही भागलाई संरक्षित क्षेत्र, राष्ट्रिय निकुञ्ज वा सिकार आरक्षण क्षेत्रमध्ये एक बनाउन वर्षौँदेखि माग हुँदै आए पनि अहिलेको संघीय सरकारका वन तथा वातावरणमन्त्रीमा मुगुबाटै निर्वाचित ऐनबहादुर शाही रहेकाले मुगालीको माग सुनुवाइ हुने आस गरिएको लामाको भनाइ छ ।

See More On

सुझावित समाचार