खोटाङ र उदयपुर जोड्ने फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज निर्माण गरिँदै

आइतबार, ७ पुष, २०८१
डिजिटल संस्करण

बेलिब्रिज निर्माणका लागि एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँ ७८ पैसामा ठेक्का

गएको असोज महिनामा सुनकोशी नदीमा आएको बाढीले बगाएको पक्की पुलको विकल्पमा उक्त स्थानमा बेलिब्रिज निर्माण सुरु भएको छ । सगरमाथा लोकमार्गमा पर्ने सुनकोशी नदीमा रहेको फोक्सिनटारको पक्की पुल बाढीमा बगेपछि विकल्पको रूपमा बेलिब्रिज निर्माण सुरु भएको हो । 

सगरमाथा लोकमार्गबाट उदयपुर–खोटाङ जोड्ने फोक्सिनटारको पक्की पुल बाढीले बगाएपछि सिधा यातयात अवरुद्ध बनेको थियो । उदयपुरको रौतामाई गाउँपालिका– ५ फोक्सिनटार र खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका– ९ को लिच्कीराम्चेबिचमा पर्ने सुनकोशी नदीमा अहिले सीधा यातायात सञ्चालनका लागि बेलिब्रिज निर्माण सुरु गरिएको सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई पशुपति ज्ञवालीले बताए ।

उनले भने, ‘आर्यन कन्स्ट्रक्सन मल्टिप्रोज प्राइभेट लिमिटेडले ठेक्का लिएर काम सुरु गरिसकेको छ । अहिले ढुंगा जम्मा गर्ने, वाल लगाउनेलगायतका काम भइरहेको छ । सम्भवतः एक महिनाभित्र बेलिब्रिज निर्माण भएर सञ्चालनमा आउनेछ ।’ उनका अनुसार बेलिब्रिज निर्माणका लागि आर्यन कन्स्ट्रक्सन मल्टिप्रोज प्राइभेट लिमिटेडले एक करोड दुई लाख ९४ हजार ६७७ रुपैयाँ ७८ पैसामा ठेक्का लिएर काम सुरु गरिसकेको छ ।

निर्माण सम्पन्न भएर दुई वर्षअघि मात्र सञ्चालनमा आएको फोक्सिनटारको आर्क ब्रिज डिजाइनको पुल बाढीले बगाएपछि उदयपुर र खोटाङको सीधा यातायात अवरुद्ध भएको थियो । पुल बगेको स्थानमा बन्न लागेको बेलिब्रिजको सामान पुरानै अवस्थामा रहेकाले बेलिब्रिज निर्माण छिटो हुने सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजनाका कार्यालय प्रमुख डिई ज्ञवालीले बताए । 

११ करोड ६० लाखको लागतमा निर्माण भएको यो पक्की पुल सुरुमा गाईघाट–दिक्तेल सडक योजना कार्यालय र पछि पुल सेक्टर १ धरान–इटहरीको सुपरिवेक्षणमा बनेको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण नाै वर्षमा बल्ल निर्माण सम्पन्न भएको भए पनि पुल सरकारलाई हस्तान्तरण गरिनसकेकै अवस्थामा सुनकोशी नदीमा आएको बाढीले बगाएको थियो । 

पक्की पुल बगेपछि फोक्सिनटारमा यातायात ठप्प हुँदा यात्रुहरूले झोलुङे पुलको साहारा लिँदै आएका छन् । पूर्वी नेपाल तथा गाईघाटबाट खोटाङ चल्ने ठुला सवारीसाधन गाईघाट–कटारी हुँदै सिद्धिचरण लोकमार्ग भएर खोटाङको दिक्तेल पुग्ने गरेका छन् ।

See More On

सुझावित समाचार