गायिका गौतम गीत संगीतमार्फत चन्द्रकोट चिनाउँदै

मंगलबार, २ पुष, २०८१
डिजिटल संस्करण

‘झल्को आउँछ टिमुरे डाँडैमा, हिमाल हेर्दै बसेको आडैमा : गुल्मी चन्द्रकोट–फुलजस्तै मायाको छैन केहीमा चोट‘ यो गीत अहिले टिकटकमा निकै रुचाइएको गीत हो। ‘गुल्मेली चेली तथा चर्चित लोक गायिका सुशीला गौतमको ‘गुल्मी चन्द्रकोट’ गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छिन्। गुल्मी चन्द्रकोट गाउँपालिकाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पहिचान बोकेको सिर्जनाले टिकटकमा राम्रो माया पाएको छ।

लामो समयदेखि गीत संगीतको क्षेत्रमा जमेकी गायिका गौतमले आफ्नो सिर्जनामा प्राकृतिक रूपमा अति सुन्तर दिब्रुङ मन्दिर, टिमुरे ताल, चंक्रेश्वर मेलालाई समावेश गरेकी छिन्। ‘ऊर्जाशील उमेर गीत संगीतमा बिताएपछि जन्मभूमिप्रति केही गर्ने भावना पलायो। त्यसैले आफ्नै लगानीमा ‘गुल्मी चन्द्रकोट’ भन्ने गीत बनाएकी हुँ,’ उनले भनिन्, ‘मेरो सिर्जनाले चन्द्रकोटको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएकी छु।’ उनले चन्द्रकोटले निर्माण गरेको कक्षा ५ को स्थानीय पाठ्यक्रममा आफ्नो विषयमा लेखिएको देखेपछि केही गरौँ भन्ने भावना जागृत भएको बताइन्। गीतमा गोर्खाका सर्जक रविन लामिछानेले शब्द र बाग्लुङ ईश्वर सिंहले लय भरेका छन्।

गीतमा रेशम निर्दोष र सुशीला गौतमले स्वर दिएका छन्। चर्चित मोडल तथा निर्देशक विनोद भण्डारी र सन्जना गुरुङले अभिनय गरेको म्युजिक भिडियो उत्कृष्ट बनेको छ। दिब्रुङ मन्दिर, टिमुरे ताल, चंक्रेश्वर मेलालाई तीनतिर हुँदा मुख्य क्षेत्र चन्द्रकोटनै भिडियोमै समावेश गर्न नपाएको दुःख लागेको गौतमले बताइन्। उनले त्यो विषय सामाजिक संजालमा समेत आएकाले फेरि कुनै सिर्जनामा समेटेर लैजाने प्रतिबद्धता जनाइन्।

यो गीत सुशीला गौतम युटु्युब च्यानलमार्फत सार्वजनिक भएको हो। अहिले एक लाख २५ हजार भ्युज पुगेका छन्। ५० लाख भ्युज पुगेको पञ्चेबाजा माइतीको माया, एक नजर लाइदेऊ न माया, रातो भाले, पाहुना, भुइँ छोडेकी चरीलगाययतका सिर्जनाहरूमा गौतम आफैँले लगानी गरेकी छिन्। तीबाहेक चार दर्जन गीतमा स्वर दिएको दाबी गौतमको रहेको छ।

उनले अहिलेको सिर्जना टिकटकमा अत्यन्तै लोकप्रिय भए पनि युट्युब भिडियोमा भने सोचेअनुसारको नभएको प्रतिक्रिया दिइन्। उनको घर चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर हो। ०६७ सालबाट नेपाली लोक गीत, संगीतको क्षेत्रमा पाइला चालेकी गौतमको पहिलो एल्बम ‘बसायो बाँमरी’ हो।

सुझावित समाचार