माथिल्लो अरुणमा विश्व बैंक पछि हटे स्वदेशी लगानी जुटाइने

एक हजार ६३ मेगावाटको माथिल्लो अरुणमा विश्व बैंकले ऋण लगानी गर्न भारतको लिखित सहमति मागेपछि पछिल्लो समय थप वार्ता अघि बढ्न सकेको छैन

मंगलबार, २ पुष, २०८१
डिजिटल संस्करण

एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलाशययुक्त जलविद्युत् परियोजनामा विश्व बैंक पछि हटे स्वदेशी लगानी जुटाउने तयारी नेपाल विद्युत् प्राधिकरणले गरेको छ । विश्व बैंकले ऋण लगानी गर्न भारतको लिखित सहमति मागेपछि पछिल्लो समय थप वार्ता अघि बढ्न सकेको छैन । पटक–पटक पहल गर्दा पनि भारतले सकारात्मक जवाफ नदिएको प्राधिकरणका एक अधिकारीले बताए ।

‘माथिल्लो अरुणमा ऋण दिन विश्व बैंकले भारत सरकारको लिखित सहमति मागेको छ । त्यसका लागि हामीले भारतसँग पहल गरिरहेका छौं । यसमा भारत सकारात्मकजस्तो देखिए पनि अहिलेसम्म लिखित सहमति दिन सकेको छैन,’ प्राधिकरणका ती अधिकारीले भने, ‘फलस्वरूप यस मामिलामा पछिल्लो समय विश्व बैंकसँगको वार्ता रोकिएको छ ।’

पछिल्लोपटक गत वैशाखमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनको अमेरिका भ्रमणका क्रममा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति भएको थियो । त्यसपछि ठोस प्रक्रिया अघि बढ्न नसकेको स्रोतको भनाइ छ ।

माथिल्लो अरुण र ६ सय ७० मेगावाटको दुधकोशीमा विश्व बैंक र एसियाली विकास बैंकले संयुक्त लगानी गर्ने तयारी थियो । माथिल्लो अरुणमा विश्व बैंकले र दुधकोशीमा एसियाली विकास बैंकको नेतृत्वमा गर्ने गरी गत मंसिर ०८० मा युएईमा सम्पन्न कोप–२८ सम्मेलनमा  विश्व बैंक र एसियाली विकास बैंकबिच सहमति भएको थियो । त्यसपछि दुधकोशीमा लगानी गर्ने मामिलामा एसियाली विकास बैंकसँगको वार्ता दु्रत गतिमा अघि बढेको छ । तर, अपर अरुणमा लगानी गर्ने मामिलामा विश्व बैंकसँगको वार्ता अघि बढेको छैन ।

माथिल्लो अरुणको तल्लो क्षेत्रमा पर्नेे नौ सय मेगाावाटको अरुण तेस्रो जलविद्युत् परियोजना भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन)ले बनाइरहेको छ । माथिल्लो अरुण बनाउँदा तल्लो अरुणमा असर पर्ने–नपर्ने जानकारी मागेको थियो । त्यसमा भारतीय कम्पनीले कुनै असर नपर्ने जानकारी गराइसकेको छ । त्यो साथै विश्व बैंकले भारत सरकारको पनि सहमति मागेको छ । उक्त नदी बगेर भारतमै पुग्ने भन्दै विश्व बैंकले भारत सरकारको सहमति मागेको छ । विश्व बैंकको ‘गाइडलाइन’मा जलविद्युत् परियोजनामा लगानी गर्दा नदीको तल्लो किनाराको देशको सहमति चाहिने उल्लेख भएको बताइएको छ, त्यसअनुसार पनि   भारतको सहमति मागेको स्रोतको भनाइ छ । स्रोतका अनुसार उक्त परियोजनामा भारतीय लगानीकर्ताले पनि चासो देखाइरहेका छन् ।  यस्ता कारण पनि पछिल्लो विश्व बैंकसँग वार्ता अघि बढ्न नसकेको स्रोतको भनाइ छ ।

यता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्व बैंकसँग वार्ता भइरहेको बताए । विश्व बैंकले लगानी नगर्ने भएमा स्वदेशी लगानीमै उक्त परियोजना अघि बढाउने उनको भनाइ छ । निर्माण अवधिको ब्याज र मूल्यवृद्धिलगायत सहित परियोजनाको लागत अनुमान एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब) छ । त्यसमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइने योजना छ ।

प्राधिकरणले ब्लेन्डेड फाइनान्सिङ’(मिश्रित लगानी)को नमुना परियोजनाका रूपमा अगाडि बढाउन लागिरहेको छ । यसका लागि हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)को नेतृत्वमा ५३ अर्ब स्वदेशी बैंक तथा वित्तीय स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट सहवित्तीयकरणमार्फत लगानी जुटाउन समझदारीपत्र (एमओयू) भइसकेको छ । साथै, विश्व बैंकबाट एक अर्ब डलर लगानी जुटाउने योजना थियो । पछिल्लोपटक विश्व बैंकमार्फत नै दुई अर्ब डलर ऋण लिएर स्वदेशी ऋण प्रयोग नगर्ने योजनामा प्राधिकरण थियो ।

‘अन्तिम चरणमा आएर वित्तीय व्यवस्थापनमा केही ढिलाइ भएको हो । विश्व बैंकको लगानीका लागि प्रशासनिक तथा कूटनीतिक रूपमा छलफल भइरहेको छ,’ उनले भने, ‘यदि विश्व बैंकले लगानी नगर्ने अवस्था आएमा देशभित्रका बैंक तथा वित्तीय संस्था र स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सेयर निष्कासनमार्फत रकम जुटाएर आयोजना अगाडि बढाउँछौँ ।’

सन् २०२६ को सुरुवातबाट निर्माण सुरु गर्ने लक्ष्यका साथ निर्माणपूर्वका काम भइरहेका छन् ।  आयोजनाको निर्माण सन् २०३१ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनालाई आवश्यक पर्ने २३२.१४ हेक्टर निजी जग्गा प्राप्ति करिब सम्पन्न भएको छ । अधिग्रहण गरिने जग्गाको करिब ९९ प्रतिशत मुआब्जा तथा क्षतिपूर्ति वितरण गरिसकिएको छ । आयोजनाबाट विस्थापितहरूको पुनस्र्थापना कार्य जारी छ ।

सडक निर्माणमै आठ अर्ब खर्च हुँदै, हेलिकोप्टरमार्फत सामान ढुवानी गरी निर्माण सुरु 
भौगोलिक रूपमा विकट र जटिल रहेको आयोजनाको विद्युत्गृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण भइरहेको छ । त्यसमा दुई किलोमिटर सुरुङमार्ग आवश्यक पर्छ । कोशी राजमार्गलाई छाडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टिल आर्क पुल निर्माण गरिरहेको छ ।

भोटखोला गाउँपालिका– ४, नामासे र सोही गाउँपालिका– २, रुकुमा जोड्ने दुई किलोमिटर सुरुङमार्ग निर्माणका लागि आवश्यक बुमर, जेसिबी, लोडर, रोबोटिक सटक्रिट, सटक्रिट मेसिन, कंक्रिट पम्प, जेनेरेटरलगायतका हेभी उपकरणहरू एवं निर्माण सामग्री हेलिकोप्टरबाट ढुवानी भइरहेको छ । दुवै स्थानसम्म पुग्न सडक नभएकाले कोशी राजमार्ग हुँदै गोलाबजार पु¥याइएका उपकरणलाई खोलेर एमआई–१७ तथा अन्य साना हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो । हालसम्म तीन सय ट्रिपभन्दा बढी ढुवानी भइसकेको छ ।

सुरुङ खन्नका लागि आवश्यक विस्फोटक पदार्थ भण्डारणका लागि बंकर र त्यसको रेखदेखका लागि खटिने सेनाका लागि कार्यालय तथा आवास निर्माणाधीन छ । उक्त सम्पूर्ण काम सकिएपछि नामासे र रुकुममा दुवैतर्फबाट सुरुङ खन्न सकिनेछ । छोङराङबाट नामासेसम्मको सडकको ट्र्याक खोल्न सुरु गरिएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी अवास निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय वन क्षेत्रको जग्गा उपभोग र त्यहाँ रहेका रुख कटानको स्वीकृति प्रक्रियामा समय लाग्दा पहुँचमार्ग निर्माण डेढ वर्ष प्रभावित भएको थियो ।

कार्यकारी निर्देशक घिसिङले पहुँचमार्ग निर्माणमा हालसम्म भएको प्रगतिबाट उत्साहित भएको र  यसबाट अपर अरुण आयोजना अगाडि बढेको सन्देश गएको बताए । कम्पनीका प्रबन्ध–सञ्चालक जोशीले निजी जग्गा अधिग्रहण भइसकेको र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटान स्वीकृति पाइसकेकाले पहुँचमार्ग निर्माण तीव्र गतिमा अगाडि बढाउन समस्या नरहेको बताए । पहुँचमार्ग निर्माणका लागि भारतीय कम्पनी गायत्री प्रोजेक्ट लिमिटेड र नेपालको कन्काई इन्टरनेसनल बिल्डर्सको संयुक्त उपक्रम (जेभी)बिच ०७९ फागुन ११ गते सात अर्ब ९१ करोड रुपैयाँमा (प्रोभिजनल सम एवं करसहित) ठेक्का सम्झौता भएको थियो । उक्त ठेक्का सम्झौता ०८० वैशाख २८ गतेबाट कार्यान्वयनमा आएको थियो । ०८२ को माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सुझावित समाचार