सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाउँदा काठमाडौं र कर्णालीमध्ये एक टोली शीर्ष चारमा पुग्ने समीकरण
नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा तीन टोलीले स्थान सुरक्षित गरिसक्दा काठमाडौं गुर्खाज र कर्णाली याक्समध्ये एक टोली अन्तिम चारमा पुग्ने समीकरण बनेको छ । प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राइनोज पुगेका छन् । आइतबार काठमाडौंले विराटनगर किंग्सलाई पराजित गरेपछि चितवन प्लेअफमा पुगेको हो । त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित निकालेको सुदूरपश्चिम १० अंकका साथ शीर्ष स्थानमा उक्लेको छ ।
जनकपुर दोस्रो स्थानमा छ । जनकपुरको सात खेलबाट १० अंक छ । सुदूरपश्चिमले एक खेल कम खेलेको छ । अब सोमबार सुदूरपश्चिमले कर्णालीविरुद्ध लिग चरणको अन्तिम खेल गर्नेछ । यसै खेलबाट प्लेअफमा पुग्ने अन्तिम टोलीको छिनोफानो हुनेछ । काठमाडौंले विराटनगर किंग्समाथि एक विकेटको जित निकालेका कारण अन्तिम चारमा पुग्ने टोलीको छिनोफानो नभएको हो । काठमाडौं पराजित हुँदा एनपिएलको प्लेअफ समीकरण तयार हुने थियो ।
कर्णालीले सुदूरपश्चिमलाई हराए सीधै प्लेअफमा स्थान बनाउनेछ । अप्रत्याशित ठूलो हारले कर्णालीको शीर्ष चारको स्थान कमजोर बन्नेछ । सुदूरपश्चिमसँग कर्णाली ठूलो अन्तरले पराजित हुँदा काठमाडौंको भाग्य चम्किनेछ । चितवनसँगै कर्णाली र काठमाडौंको समान ८ अंक छ । सुदूरपश्चिमसँग पराजित भएपछि पोखरा लिग चरणबाटै बाहिरियो । लिगमा एक मात्रै जितसहित लुम्बिनी पुछारमा रह्यो ।
शीर्ष चारमा रहेका टोलीमध्ये शीर्ष दुईले पहिलो क्वालिफायर खेल्नेछन् । जित्ने टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ । लिगमा तेस्रो र चौथो हुने टोलीले इलिमिनेटर खेल्नेछन् । जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ । पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ ।
काठमाडौंको झिनो आशा
प्लेअफको आशा जीवितै राख्न काठमाडौंले विराटनगरलाई फराकिलो अन्तरले हराउनुपर्ने थियो । विराटनगरलाई एक विकेटले हराए पनि काठमाडौंले रनरेटमा खासै सुधार ल्याउन सकेन । राम्रो रनरेटमा जित निकाल्दा काठमाडौं अंक तालिकामा माथि पुग्ने थियो । चार जित निकालेको काठमाडौं ८ अंकका साथ पाँचौँ स्थानमा रह्यो । पहिलो ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११६ रनको मध्यम योगफल खडा गर्यो । प्रत्युत्तरमा काठमाडौंले १८.१ ओभरमा नौ विकेटको क्षतिमा १२० रन बनायो ।
इनिङ्सको १८.१ ओभरमा सुभास भण्डारीविरुद्ध चौका प्रहार गर्दै दीपेश कँडेलले काठमाडौंको प्लेअफ सम्भावना जीवितै राखेका हुन् । काठमाडौंका लागि प्रतीक श्रेष्ठले ३४ बलमा समान दुई चौका र छक्कासहित सर्वाधिक ३९ रन बनाए । शंकर राना २० बल सामना गर्दै १६ रनमा अविजित रहे । दीपेश कँडेलले पाँच बलमा समान एक चौका र छक्कासहित ११ रनको विजयी इनिङ्स खेले । विराटनगरका लेग स्पिनर सन्दीपले तीन विकेट लिए । अनिल खरेल, बसिर अहमेद र क्रिस सोलले समान दुई विकेट हात पारेका थिए ।
यसअघि विराटनगरको ब्याटिङ चल्न सकेन । अनुभवी खेलाडी राजेश पुलामी मगरले २१ बलमा समान एक चौका र एक छक्का प्रहार गरी सर्वाधिक २५ रनको योगदान दिए । ओपनर दीपक बोहराले २० र लोकेश बलमे ८ रन जोडे । विराटनगरले न्युजिल्यान्डका कीर्तिमानी खेलाडी मार्टिन गुप्तिललाई विश्राम दिएको थियो । काठमाडौंका लागि नामिबियाका कप्तानसमेत रहेका जेरार्ड इरास्मसले सर्वाधिक तीन विकेट लिए ।
अन्तिम ओभरमा सुदूरपश्चिम विजयी
एनपिएलको २७औँ खेलमा सुदूरपश्चिमले पहिलो ब्याटिङ गरी सात विकेट गुमाएर १५३ रन बनाएको थियो । प्रत्युत्तरमा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र जोड्दा सुदूरपश्चिमले पाँच रनको रोमाञ्चक जित निकाल्यो । पोखरालाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो । सुदूरपश्चिमका मार्की तथा कप्तान दीपेन्द्रसिंह ऐरीले स्कट कुगेलेनलाई बलिङ गर्न दिए । उनले अन्तिम ओभरमा सनसनीपूर्ण बलिङ गरी तीन विकेट लिँदा पोखरा स्तब्ध भयो ।
क्रिजमा सेट ब्याट्सम्यान किरण ठगुन्ना थिए । आक्रामक रूपमा ब्याटिङ गरिरहेका किरण १९.१ ओभरमा बोल्ड भए । निर्णायक मोडमा विकेट गुमाएका किरणले २८ बलमा तीन चौका र एक छक्का प्रहार गरी ३२ रनको योगदान दिए । स्कटले १९.२ ओभरमा सुदीप अर्याललाई रनआउट गराए । त्यसपछि इनिङ्सको १९.४ ओभरमा विपिन खत्रीलाई म्याकमुलेनबाट डकआउट गराउँदै स्कटले सुदूरपश्चिमलाई ५ रनको जित दिलाए । न्युजिल्यान्डका अलराउन्डर स्कटले पोखराविरुद्ध पाँच विकेट लिए ।
उनले ३.१ ओभरमा एक मेडन राखी १८ रन मात्र खर्चेका थिए । स्कट एनपिएलमा पाँच विकेट लिने पाँचौँ बलर बनेका छन् । कर्णालीका विलियम बासिस्टोले सर्वाधिक ६ विकेट लिएका छन् । नरेन साउद, हर्ष ठाकर र सोहेल तनभिरले समान पाँच विकेट लिएका छन् । स्कट कुगुलेइन, ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएका छन् ।
पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन बनाएका थिए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । कप्तान दीपेन्द्रसिंहले १६ बलमा एक छक्काको सहयोगमा २० रन जोडे । पोखराका लागि आन्द्रेस गौसले २१ बलमा ३६ रन जोडेका थिए ।