नेपाल कबड्डी लिग (एनकेएल)को पहिलो संस्करणका लागि टिम प्रशिक्षक र मार्की खेलाडी घोषणा भएको छ । आइतबार खेलाडीको ड्राफ्ट सकिँदा ६ टोलीले ८४ खेलाडी छनोट गरेका छन् । एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गर्ने एनकेएलमा ६ सहरका ६ टोलीबिच प्रतिस्पर्धा हुनेछ । टोलीमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, बुटबल रेइडर्स र धनगढी वाइल्डक्याट्स छन् ।
विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहरालाई प्रशिक्षक बनाएका छन् । बुटवलले सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेका छन् । विराटनगरले कल्याण भुजेल, धनगढीले पदमबहादुर विष्ट, बुटवलले गणेश पार्की, जनकपुरले रामु टमाटा, काठमान्डुले घनश्याम रोकामगर र पोखराले प्रदीप मिजारलाई मार्की खेलाडीका रूपमा भिœयाएका छन् । प्रशिक्षक र मार्कीको छनोटपछि एनकेएलमा खेलाडीको ड्राफ्ट गरिएको थियो ।
ड्राफ्टमा ९२ जना नेपाली र २५ विदेशीले प्रतिस्पर्धा गरेका थिए । विदेशी खेलाडीमा थाइल्यान्ड, श्रीलंका, बंगलादेश र केन्याका थिए । ६६ नेपाली र १८ जना विदेशी खेलाडी ड्राफ्टबाट छानिएका छन् । प्रत्येक टोलीमा १४ खेलाडी छन् । हरेक टोलीले दुईदेखि चारजनासम्म विदेशी खेलाडी लिएका छन् ।