सर्च कमिटीबाट सिफारिस तीनमध्ये एकजना नियुक्त गर्न सकिने व्यवस्थाअनुसार आइतबार आठ डिन नियुक्त, नियुक्तिका लागि अन्तिम समयमा दलीय सहमति
देशको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका डिन नियुक्तिमा विगतमा जस्तो देखिने गरी दलीय भागबन्डा नगरी पहिलोपटक नयाँ प्रक्रिया अपनाइएको छ । राजनीतिक रूपमा सिफारिस व्यक्ति नियुक्ति हुने परम्परा तोड्दै उपकुलपति प्रा.डा. केशरजंग बरालले त्रिविका विभिन्न आठ संकायमा प्रतिस्पर्धाका आधारमा डिन नियुक्त गरेका हुन् । यद्यपि, नियुक्ति गर्न अन्तिम समयमा दलीय सहमति जुटाइएको छ ।
विगतमा मेरिटोक्रेसी भनिए पनि राजनीतिक भागबन्डाकै आधारमा डिन नियुक्त हुने परम्परा रोक्न उपकुलपति प्रा.डा. बरालले यसपटक ‘त्रिभुवन विश्वविद्यालय सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१’ जारी गरेका थिए । विनियममा नियुक्ति प्रक्रियामा सर्च कमिटी गठन गर्नैपर्ने र सिफारिस भएका तीनमध्येबाट एकजना गर्न सकिने व्यवस्था छ । यही प्रक्रियामार्फत आठ डिन नियुक्त भएका हुन् ।
प्रा.डा. बरालले त्रिविमा हुने राजनीतिक भागबन्डा र नियुक्ति थितिमा ल्याउन जेठमा विनियम तयार पारेका थिए । सो विनियमअनुसार सिफारिस समितिले तीनजना व्यक्तिको नाम सिफारिस गर्ने र सोहीअनुसार कार्यकारी समितिले नियुक्त गर्छ । विनियम बन्नुभन्दा पहिले नितान्त राजनीतिक भागबन्डा गरेर नियुक्त हुँदै आएका थिए ।
उपकुलपति प्रा.डा. बरालले विनियमअनुसार नै नियुक्त गरिएको बताए । ‘विनियममा त्रिवि कार्यकारी परिषद्ले सर्च कमिटी गठन गर्ने र त्यो सर्च कमिटीले तीनजनाको नाम सिफारिस गर्ने व्यवस्था छ । सोही आधारमा तीनजना मध्येबाट एकजनालाई कार्यकारी परिषद्ले नियुक्ति गर्ने व्यवस्था पनि विनियमले गरेको छ । विनियमअनुसार नियुक्ति भएको छ । यसपटक कार्यकारी परिषद्ले बुद्धिमतापूर्वक काम गरेको छ,’ उनले भने ।
तर, त्रिविका पूर्वउपकुलपति तीर्थ खनियाँले नियुक्तिमा विनियमभन्दा पनि कानुन नै काफी भएको बताउँदै थिति बसाल्न विनियमले सहयोग गर्ने बताए । ‘त्रिवि ऐन काफी छ, तर त्यसको कार्यान्वयन कति भन्ने मात्र हो । यसपटक डिन नियुक्ति गर्दा प्रधानमन्त्रीले भिसीलाई कमजोर बनाएको देखियो,’ उनले भने, ‘किनभने, उहाँले निर्देशन दिएपछि भिसी नियुक्त भए । त्रिविमा नियुक्ति प्र्रक्रिया व्यवस्थित गर्न चाहिने मुख्य आधार कानुन नै हो, भिसीले कार्यान्वयन गरे पुग्छ ।’
त्रिविका प्रवक्ता यमनसिंह बोहराले विनियमले नियुक्तिमा हुने राजनीतिक भागबन्डा अन्त्य गरेको दाबी गरे । ‘सावधिक पद नियुक्तिसम्बन्धी विनियम, ०८१ यसपटक मात्रै जारी भयो, यो निकै महŒवपूर्ण काम हो । उपकुलपतिज्यूले नियम मिच्न खोज्नुभएको छैन । दीर्घकालीन रूपमा नियमसंगत बनाउन मापदण्ड नै तय गर्नुभएको छ,’ उनले भने ।
आइतबार बसेको उपकुलपति, रेक्टर र रजिस्ट्रारसहितको कार्यकारी परिषद् बैठकले विनियमअनुसार नै सर्च कमिटीबाट आएका नामावलीमध्येबाट डिन नियुक्ति गरेको हो । त्रिवि ऐनमा पनि मेरिटोक्रेसीका आधारमा डिन नियुक्ति गर्नुपर्ने व्यवस्था छ । तर, विनियम नबन्दा त्यसको कार्यान्वयन हुन सकेको थिएन । अब भने विनियम मिचेर नियुक्ति नगरिने प्रवक्ता बोहराले बताए ।
कार्यकारी परिषद्ले कुन संकायमा कुन व्यक्ति नियुक्त गर्ने भन्ने विषय शनिबार नै टुंग्याएको थियो । आइतबार नियुक्त डिन सोमबारदेखि कार्यालयमा हाजिरी हुनुपर्नेछ ।
गत बिहीबार बसेको त्रिविसभाको साधारण बैठकमा उपकुलपतिले डिन नियुक्ति नगरेको भन्दै विरोध भएको थियो । त्यही बैठकमा कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले ७ पुससम्मको अल्टिमेटम दिँदै डिन नियुक्ति गर्न भनेका थिए । एमालेले भाग खोजेका कारण नियुक्तिमा ढिलाइ भएको समाचारपछि ओलीले समयसीमा तोकेका थिए ।
पहिलो नम्बरकैलाई नियुक्त गर्न चाहन्थे उपकुलपति, एमालेलाई मिलाउन तीनमध्ये एक ल्याइयो
उपकुलपति प्रा.डा. केशरजंग बरालले सर्च कमिटीले सिफारिस गरेकामध्ये पनि १ नम्बरमै रहेकालाई नियुक्ति गर्न चाहेका थिए । तर, कार्यकारी परिषद्का अन्य पदाधिकारीले नमानेपछि सिफारिसमा परेका तीनजनामध्ये एकलाई नियुक्त गरिएको छ । उपकुलपति, रेक्टर र रजिस्ट्रारसहितको कार्यकारी परिषद् हुन्छ । १ नम्बरमा मात्रै सिफारिस भएकालाई नियुक्ति गर्दा आफ्नो भागमा प्राध्यापक नपर्ने भएपछि एमालेले विरोध जनाएको थियो । तर, तीनमध्ये एकलाई नियुक्ति गर्दा प्रमुख तीन दलका चासोका व्यक्तिहरू परेका छन् । अहिले अपनाइएको प्रक्रिया मेरिटोक्रेसी नै मानिने त्रिवि प्रवक्ता यमनसिंह बोहराले बताए । विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ मा सिफारिस तीनमध्ये एकजना नियुक्त गर्न सकिने व्यवस्था छ ।
कुन संकायमा को डिन ?
१. व्यवस्थापन संकाय– प्रा.डा. महानन्द चालिसे । २. विज्ञान तथा प्रविधि संकाय– प्रा.डा. शंकरप्रसाद खनाल । ३. इन्जिनियरिङ संकाय– प्रा.डा. सुशीलबहादुर बज्रचार्य । ४. मानविकी तथा सामाजिक शास्त्र संकाय–प्रा.डा. दुवीनन्द ढकाल । ५. चिकित्साशास्त्र अध्ययन संस्थान– प्रा.डा. मोहनराज शर्मा । ६. कृषि तथा पशुविज्ञान– डा. किशोरचन्द्र दाहाल । ७. शिक्षाशास्त्र संकाय– प्रा.डा. वेदराज आचार्य । ८. वन विज्ञान अध्ययन संस्थान– डा. ठाकुर सिलवाल
तीन निर्देशक पनि नियुक्त
१. शिक्षा विकास तथा अनुसन्धान केन्द्र– डा. राजेन्द्र कुँवर । २. व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र– प्रा.डा. मीना राजभण्डारी । ३. त्रिवि योजना निर्देशनालय– डा. लक्ष्मीकान्त शर्मा
कोको थिए प्रतिस्पर्धामा ?
व्यवस्थापन संकायमा सर्च कमिटीले डिल्लीराज शर्मा, प्राध्यापक प्रेमसागर चापागाईं र प्रा.डा. चालिसेको नाम सिफारिस गरेकोमा चालिसेलाई नियुक्त गरिएको छ । विज्ञान तथा प्रविधि संकायमा चेतराज भट्ट, नारायण अधिकारी र प्रा.डा. शंकरप्रसाद खनालको नाम सिफारिस भएकामा खनाललाई नियुक्त गरिएको छ । मानविकी तथा सामाजिक शास्त्र संकायमा सञ्चय आचार्य, ताराप्रसाद भुसाल र दुवीनन्द ढकालको नाम सिफारिस भएकाले कार्यकारी परिषद्ले ढकाललाई नियुक्त गरेको हो । चिकित्साशास्त्र अध्ययन संस्थानमा सुधा बस्नेत, मोहनराज शर्मा र दिव्यासिंह शाहमध्येबाट शर्मालाई नियुक्त गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानमा भोलानन्द शर्मा, सुवर्ण शाक्य र सुशील बज्रचार्यको नाम सिफारिस भएकामा बज्रचार्य नियुक्त भए । त्यस्तै, वन विज्ञान अध्ययन संस्थानमा ठाकुर सिलवाल, राजेश राई र राजकुमार कोइरालाको नाम सिफारिस भएकोमा सिलवाल नियुक्त भएका छन् । कृषि तथा पशुविज्ञानमा हरिकृष्ण पन्त, किशोरचन्द्र दाहाल र यमबहादुर गुरुङको नाम सिफारिस भएकामा दाहाल नियुक्त भएका छन् । त्यस्तै, शिक्षाशास्त्रमा वेदराज आचार्य, चित्रबहादुर बुढाथोकी र नारायण बेल्वासे सिफारिस भएकोमा आचार्यलाई नियुक्त गरिएको छ ।