डिजिटल स्वास्थ्यले ग्रामीण दुर्गम बस्तीमा स्वास्थ्य सेवा पहुँचलाई सुधार गर्ने, सेवा गुणस्तर बढाउने र लागत घटाउने क्षमता राख्छ
नेपालको स्वास्थ्य प्रणालीले सेवाको पहुँच, समयसापेक्ष पूर्वाधार र स्वास्थ्य सेवा वितरणसँग सम्बन्धित ठुला चुनौतीहरूको सामना गर्दै छ । त्यसमा पनि ग्रामीण दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवाको सीमितताले नागरिकका बिचमा ठुलो विभेदको खाडल गरेको छ । सरकारमा ओहोरदोहोर गर्ने दलहरूले यस्तो अवस्थालाई अविलम्ब हटाई समान र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न उद्घोष गर्छन् । त्यसका लागि सबैको आशा डिजिटल स्वास्थ्य प्रविधिमाथि रहेको छ । नेपालमा टेलिमेडिसिन, मोबाइल स्वास्थ्य एप्लिकेसन र इलेक्ट्रोनिक स्वास्थ्य रेकर्डहरूले स्वास्थ्य सेवाको रूपान्तरण गर्ने क्षमता राख्छन् । यद्यपि, हामीले तिनको प्रभावकारी कार्यान्वयन गर्न सकिरहेका छैनौँ । यस लेखमार्फत नेपालमा डिजिटल स्वास्थ्यको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारेमा समीक्षा गर्न प्रयास गरिएको छ ।
नेपालमा डिजिटल स्वास्थ्यको वर्तमान अवस्था
नेपालमा डिजिटल स्वास्थ्यको इतिहास त्यति लामो छैन । करिब दुई दशकअघि महावीर पुनले म्याग्दीका दुर्गम बस्तीमा इन्टरनेटसहितको कम्प्युटरको विस्तार गरेपछि अन्य सेवासँगै नेपालमा डिजिटल स्वास्थ्यको सुरुवात भएको थियो । त्यसपछिका अवधिमा विभिन्न स्थानमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ससाना परीक्षणका रूपमा डिजिटल स्वास्थ्यको परीक्षण हुँदै आएको छ । यस्तो सेवाले स्वास्थ्यकर्मीहरूको अभाव भएको स्थानविशेष गरी ग्रामीण क्षेत्रहरूमा पनि स्वास्थ्य परामर्श र चिकित्सा सेवा उपलब्ध गराउन थालनी गर्यो । त्यस काममा पाटन अस्पताललगायत अन्य अस्पतालहरूले ग्रामीण भेकका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र बिरामीहरूलाई चिकित्सा सेवा र उपचारमा विशेषज्ञ परामर्शदाताका रूपमा सहजीकरण गरे ।
डिजिटल स्वास्थ्यको विकासक्रममा मोबाइल स्वास्थ्य (एमहलेल्थ) जनस्वास्थ्यका लागि निकै प्रभावकारी माध्यम बन्दै छ । यस प्रविधिको प्रयोग गरी आमा र बच्चाको स्वास्थ्य, किशोर–किशोरीदेखि वृद्धहरूको स्वास्थ्य, प्रजनन स्वास्थ्य, सर्ने वा नसर्ने रोग व्यवस्थापन, खोप, व्यवसायजन्य स्वास्थ्य, पर्यावरण आदि महत्वपूर्ण विषयमा लक्षित वर्गमा स्वास्थ्य जानकारी उपलब्ध गराउन सहज भएको छ । नेपालमा ‘आरोग्य हेल्थ’, ‘मेरो हेल्थ’, ‘आमाको माया’जस्ता दर्जनौँ कार्यक्रमले कोभिड– १९ महामारीको अवस्थादेखि नै बिरामी र अन्य सर्वसाधारणहरूलाई आफ्नो स्वास्थ्य अवस्थालाई व्यवस्थापन गर्न सहजीकरण गर्दै, सचेतना फैलाउँदै र समग्र स्वास्थ्य परिणामको सबलीकरणमा योगदान दिँदै आएका छन् ।
इलेक्ट्रोनिक स्वास्थ्य रेकर्डहरू (इएचआर) डिजिटल स्वास्थ्यको अर्काे महत्वपूर्ण पाटो हो । सरकारले सम्पूर्ण स्वास्थ्य सूचना डिजिटल प्रविधिबाट सुरक्षित राख्ने नीति ल्याएको छ । यो प्रविधिलाई अस्पतालहरूले प्रयोगमा ल्याउँदै छन् । पाटन अस्पतालजस्ता अस्पतालहरूले बिरामीको रेकर्डलाई डिजिटाइज गर्दै छन्, जसले दक्षता बढाउँछ र चिकित्सकहरूलाई बिरामीको जानकारीमा चाँडो र सहज पहुँच दिन्छ । तथापि, विभिन्न स्वास्थ्य संस्थाहरूबिच अन्तरसञ्चालनका चुनौतीहरू अझै बाँकी छन् । धेरै अस्पताल विशेष गरी ग्रामीण क्षेत्रमा, अझै कागजी रेकर्डमै निर्भर छन् । यो ढिलो संक्रमण डिजिटल स्वास्थ्य प्रणालीहरूको व्यापक स्वीकारोक्तिलाई बाधित गर्ने प्रमुख चुनौती हो ।
यी उपकरणका अतिरिक्त, डिजिटल स्वास्थ्य शिक्षा र तालिम पनि देशको स्वास्थ्य प्रणालीमा समाहित हुँदै छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता संस्थाहरू स्वास्थ्यकर्मीहरूको डिजिटल साक्षरतामा सुधार गर्न काम गर्दै छन् जसले उनीहरूलाई डिजिटल स्वास्थ्य उपकरणहरूको प्रभावकारी प्रयोग गर्न आवश्यक सीपहरू प्रदान गर्छ । यो क्षमता निर्माण डिजिटल स्वास्थ्य पहलहरूको सफलता र दीर्घकालिक स्थायित्व सुनिश्चित गर्न महत्वपूर्ण छ ।
सरकारी नीति र नियामक ढाँचा
नेपाल सरकारले डिजिटल स्वास्थ्यको प्रयोगलाई उच्च महत्व दिई ‘राष्ट्रिय डिजिटल स्वास्थ्य रणनीति’ र मार्गनिर्देशन पारित गरेको छ । यसले डिजिटल स्वास्थ्यका लागि एउटा बलियो रूप रेखा तयार गर्ने लक्ष्य राख्छ, जसमा स्वास्थ्य पहुँच, गुणस्तरीयता र दक्षता सुधार्ने कुरामा ध्यान केन्द्रित गरिएको छ । यस रणनीतिमा स्वास्थ्य पूर्वाधार बलियो बनाउने, स्वास्थ्य सूचना प्रविधिहरूको प्रयोग बढाउने, र डिजिटल स्वास्थ्य सेवाहरूलाई सबै जनसंख्यामा पहुँचयोग्य बनाउने उपाय समावेश गरिएको छ ।
यसको नियमनको पक्षमा भने अझै थुप्रै अन्योल बाँकी छन् । डेटा गोपनीयता, सुरक्षा र स्वास्थ्य डेटाको नैतिक प्रयोगजस्ता मुद्दाहरूको समाधानका लागि समग्र नियामक दायरा अझै विश्वसनीय बनाउनु आवश्यक छ । बिरामीको जानकारीको गोपनीयता र सुरक्षा सुनिश्चित गर्न अझै बढी नियम आवश्यक छन् । यसका साथै गैरसरकारी संस्था (एनजिओ) र निजी प्रविधि कम्पनीबिचको सार्वजनिक निजी साझेदारीले डिजिटल स्वास्थ्यको सिकाइलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
चुनौती र अवरोध
डिजिटल स्वास्थ्यका क्षेत्रमा केही प्रगति भए तापनि यसको व्यापक स्वीकारोक्ति र प्रभावकारितामा चुनौती पनि छन् । सबैभन्दा ठुलो चुनौती भनेको पूर्वाधार र विश्वसनीय इन्टरनेट जडानको अभाव हो, विशेष गरी ग्रामीण र उच्च पहाडी क्षेत्रहरूमा । अर्काे चुनौती भनेको स्वास्थ्यकर्मी र आमजनताको कम डिजिटल साक्षरता हो । जसले ग्रामीण क्षेत्रमा मोबाइल स्वास्थ्य एप्स वा टेलिमेडिसिन प्लाटफर्महरूको स्वीकार्यतामा अवरोध पुर्याउँछ ।
डेटा गोपनीयता, सुरक्षाका अलावा आर्थिक स्थायित्व र वित्तीय स्रोत पनि अर्काे चुनौती हो । नेपालका धेरै डिजिटल स्वास्थ्य कार्यक्रम अनुदान वा बाह्य सहयोगद्वारा सञ्चालित छन् । त्यस्ता कार्यक्रमको अपनत्व राज्य वा समुदायले ग्रहण नगर्दासम्म तिनको दिगोपन नहुन सक्छ । त्यसका अलावा राज्यले डिजिटल पूर्वाधार र मानव स्रोतमा लगानी बढाउनुपर्ने आवश्यक छ ।
सांस्कृतिक र सामाजिक अवरोधले पनि डिजिटल स्वास्थ्यको ग्राह्यतामा भूमिका खेल्छन् । परम्परागत स्वास्थ्य अभ्यास धेरै समुदायमा गहिरो रूपले जडित छन् र डिजिटल स्वास्थ्य प्रविधिहरूको प्रयोगमा प्रतिरोध हुन सक्छ । साथै, सामाजिक कारकले पछाडि परेका व्यक्तिहरूलाई यस्तो सेवाको पहुँच झन् बढी कठिन हुन सक्छ ।
डिजिटल स्वास्थ्यको बढ्दो प्रभाव
थुप्रै चुनौतीका बाबजुद डिजिटल स्वास्थ्यले नेपालमा सकारात्मक प्रभाव पार्न थालेको छ । यसले स्वास्थ्य सेवा पहुँचलाई विस्तार गरेको छ, विशेष गरी दुर्गम र उपेक्षित क्षेत्रहरूमा । टेलिमेडिसिनमार्फत बिरामीहरू विशेषज्ञसँग परामर्श गर्न सक्छन् र लामो यात्रा नगरी स्वास्थ्य सेवा प्राप्त गर्न सक्छन्, जसले समय र यात्रा खर्च बचत गर्छ । यो विशेष गरी स्वास्थ्य सेवा सुविधा सीमित भएका ग्रामीण क्षेत्रका लागि लाभकारी साबित भएको छ ।
डिजिटल प्रविधिले स्वास्थ्यले मातृ तथा बाल स्वास्थ्यजस्ता क्षेत्रहरूमा उल्लेख्य सुधार गरेको छ । यस्ता प्रविधिले आममानिसमा सचेतना बढाउनसमेत निकै फाइदा पुर्याएको छ । त्यसका अलावा इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड संग्रह गर्न र त्यस्ता तथ्यहरूले स्वास्थ्य योजना तर्जुमा र चिकित्सकीय सेवा सम्बन्धित निर्णयमा प्रयोग गर्न निकै सहज भइरहेको छ । यस्ता डिजिटल प्रविधिलाई परम्परागत स्वास्थ्य प्रणालीसँग एकीकृत गर्न सके ग्रामीण तथा दुर्गम बस्तीमा रहेको स्वास्थ्य सेवाको पहुँच विस्तारमा कोसेढुंगा साबित हुनेछ । त्यसका लागि सरकार, विश्वविद्यालयहरू, निजी क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाहरूबिचको सहकार्यमा देश सुहाउँदो पूर्वाधार, क्षमता विकास र अनुसन्धानमा लगानी बढाउनु आवश्यक छ ।
निष्कर्ष
नेपालमा डिजिटल स्वास्थ्य प्रविधिहरूलाई अपनाउन केही चुनौती भए तापनि, यसका सम्भावित फाइदा पनि छन् । डिजिटल स्वास्थ्यले ग्रामीण दुर्गम बस्तीहरूमा स्वास्थ्य सेवा पहुँचलाई सुधार गर्ने, सेवा गुणस्तर बढाउने र लागत घटाउने क्षमता राख्छ । यो सम्भावनालाई साकार पार्न, पूर्वाधार, तालिम र नीति विकासमा निरन्तर लगानी आवश्यक छ ।
(सुदर्शन पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्)