चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले हराएपछि पोखरा एभेन्जर्स र विराटनगर किंग्स अन्तिम एक खेलअगाडि शीर्ष चार स्थानको दौडबाट बाहिरिएका छन्
चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेसँगै शनिबार नेपाल प्रिमियर लिग (एनपिएल)का दुई टोली प्लेअफ पुग्ने दौडबाट बाहिरिएका छन् । त्रिवि क्रिकेट मैदानमा चितवनको जितसँगै अन्तिम खेलअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्स शीर्ष चारमा नपर्ने पक्का हुँदै लिग चरणबाट बाहिरिएका हुन् । एनपिएलको २५औँ खेलको नतिजासँगै तीन टोली लिग चरणबाट बाहिरिएका छन् । यसअघि लुम्बिनी लायन्स पनि बाहिरिएको थियो ।
प्लेअफ स्थान पक्का गरिसकेको जनकपुरलाई हराएको चितवनले सात खेलबाट आठ अंक जोडेको छ । चितवनको पनि प्लेअफ सम्भावना बलियो बनेको छ । समान आठ अंक जोडेको सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफनजिक छन् । ६ खेलबाट ६ अंक बनाएको काठमाडौं गुर्खाजको पनि प्लेअफ सम्भावना बाँकी छ ।
अब प्लेअफको बाँकी तीन स्थानका लागि चार टोली प्रतिस्पर्धामा छन् । प्रतियोगिताको आइतबार दुई तथा सोमवार एक खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । यसै गरी तीन खेलको नतिजाले प्लेअफमा पुग्ने तीन टोलीको टुंगो लाग्नेछ । सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, कर्णाली याक्स र चितवनमध्ये तीन टोली प्लेअफमा पुग्नेछन् ।
प्रतियोगिताको आइतबार काठमाडौं र विराटनगरबिच खेल हुँदै छ । सुदूरपश्चिमले पोखराको सामना गर्नेछ । काठमाडौंले अन्तिम चार स्थान पक्का गर्न आफूअनुकूल जित्नैपर्नेछ । काठमाडौं विराटनगरसँग पराजित भए सुदूरपश्चिम, कर्णाली र चितवन प्लेअफ पुग्नेछन् । जनकपुर शीर्ष दुईमा रहने वा नरहने छिनोफानो सुदूरपश्चिमको बाँकी दुई खेलले निर्णय गर्नेछ ।
एक खेलअघि नै पोखरा बाहिरियो
नेपाल क्रिकेट संघ (क्यान)लाई तीन करोड ३३ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ बुझाउँदै पोखराले एनपिएलको फ्रेन्चाइज टोली किनेको हो । खेलाडी अक्सनमा पोखरा दोस्रो खर्चिलो टोली बनेको थियो । पोखराले अक्सनमा राम्रा खेलाडी भित्र्याउन ८० लाख ५० हजार रुपैयाँ खर्चिएको थियो । एनपिएलमा सहभागी हुन पोखराले लगभग चार करोड रुपैयाँमाथि खर्च गरेको छ । यति धेरै लगानी गरेको पोखरा एभेन्जर्सको लक्ष्य नै उपाधि जित्ने थियो । तर, पोखरा एनपिएलको प्लेअफसम्मै पुग्न सकेन । प्लेअफको आशा जीवितै बनाउन पोखरालाई शनिबार काठमाडौं गुर्खाजविरुद्ध जित्नुपर्ने थियो । अपेक्षाअनुसार खेलाडी चल्न नसकेपछि पोखरा काठमाडौंबाट ६ विकेटले पराजित भयो । हारसँगै पोखराको प्लेअफमा पुग्ने सबै बाटो बन्द भयो ।
चलेनन् नाम चलेका खेलाडी
पोखराले राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेललाई मार्की तथा कप्तान बनाएको छ । पोखराले उनलाई २० लाख खर्च गरेको छ । एनपिएलमा चल्न सक्ने घरेलु खेलाडीमध्ये भुर्तेल पनि थिए । तर, उनका लागि प्रतियोगिता सम्झनलायक भएन । उनले ६ मध्ये ५ खेलमा ब्याटिङ गरी ५४ रन मात्र जोडे । सर्वाधिक रन बनाउने सूचीमा उनी ४१औँ स्थानमा छन् । भुर्तेलले विराटनगरविरुद्ध मात्र सर्वाधिक ३१ रन बटुलेका थिए । काठमाडौंविरुद्ध सात रन, कर्णालीविरुद्ध १० रन बनाएका उनले जनकपुरसँगको खेलमा ६ रन जोडे ।
पोखराले टोली बलियो बनाउन अक्सनमा सागर ढकालमाथि १५ लाख र आकाश चन्दलाई ११ लाख ५० हजार रुपैयाँ खर्च गरेको थियो । यी दुवै खेलाडी पनि चल्न सकेनन् । यसैगरी, अक्सनमा पोखराले नारायण जोशी विपिन खत्री तथा दिलीप नाथमाथि समान १० लाख खर्चेको थियो ।
स्टेफनको अर्धशतकमा काठमाडौंको जित
त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको पोखराले आठ विकेट गुमाएर १३८ रन बनाएको थियो । काठमाडौंले १४.१ ओभरमा चार विकेट गुमाएर १४२ रन बनायो । काठमाडौंले ३५ बलअघि जित निकालेको हो । काठमाडौंलाई महत्वपूर्ण दुई अंक दिलाउने क्रममा स्टेफन इस्किनाजीले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ३४ बलमा १० चौकाको सहयोगमा ६० रन जोडे । पोखराविरुद्ध काठमाडौंका मध्यक्रम ब्याटिङ चल्यो । माइकल लेभिटले १८ बलमा ३२ रन र भीम सार्कीले २० बलमा २२ रन जोडे । यसैगरी, जेहार्ड इरास्मुसले १० बलमा तीन छक्का र एक चौका प्रहार गरी २५ रनको योगदान दिए । यसअघिको ब्याटिङमा दिनेश खरेल, दिलीप नाथ र रायमोन रेफेर मात्र चलेका थिए । दिनेशले २५ बलमा ३८ रन जोडे । दिलीपले २४ बलमा २७ रन र रेफेरले ३० बल सामना गरी ४१ रन बनाए । एनपिएलमा एक मात्र शतकको रेकर्ड बनाएका एन्डे«स गौस शून्य रनमा आउट भए । बलिङमा काठमाडौंका लागि करण केसी र रसिद खानले समान तीन विकेट हात पारे ।
निसिमले बनाए एनपिएलकै छिटो अर्धशतक
जनकपुरका जेम्स निसमले एनपिएलकै सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् । उनले चितवनविरुद्ध १८ बलमै अर्धशतक प्रहार गरेका हुन् । उनले चार चौका पाँच छक्का प्रहार गरे । यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले २३ बलमा अर्धशतक प्रहार गरेका थिए । चितवनले जनकपुरविरुद्ध पहिलो ब्याटिङ गरी २० ओभरमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो । प्रत्युत्तरमा जनकपुरले १८ ओभरमा सबै विकेटको क्षतिमा १४८ रन मात्र जोड्यो । निसिमले २४ बल सामना ६५ रन जोडे । उनीबाहेक अन्य खेलाडी चल्न नसक्दा जनकपुरले दोस्रो हार सामना गर्यो । यसअघिको ब्याटिङमा चितवनका लागि कप्तान कुशल मल्लले ४१ बलमा ७२ रनको योगदान दिएका थिए ।
त्रिवि मैदानमा ब्रायन लारा
वेस्ट इन्डिजका लिजेन्ड ब्रायन लाराले शनिबार त्रिवि क्रिकेट मैदानको रोमाञ्चकता लिएका छन् । क्यानका पदाधिकारी र सुरक्षाकर्मीको घेरामा लाराले मैदान चक्कर लगाउँदै हजारौँ नेपाली समर्थकलाई अभिवादन गरेका थिए । क्यानका सचिव पारस खड्कासँग भिआइपी बक्समा बसेर एनपिएलको खेल नजर गर्दा उनी दंग देखिन्थे । लाइभ कमेन्ट्रीमा समेत समावेश भएका लाराले नेपाली ढाका टोपी लगाउँदै नेपाल र यहाँको क्रिकेटको प्रशंसा गरेका छन् ।
उनले भनेका छन्, ‘नेपाली क्रिकेटप्रतिको जोश हेर्न पाउँदा खुसी लाग्यो । नेपालले पछिल्लो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्यो । दक्षिण अफ्रिकालाई हराउन धेरै नजिक पुगेको थियो । यो भिड हेर्नुस, साँच्चै अद्भूत छ । मलाई आशा छ, यहाँको क्रिकेट संरचना अझै राम्रो हुनेछ । नेपाललाई अझै धेरै क्रिकेट सुविधा र धेरै युवा खेलाडीहरूले खेल्न आवश्यक छ ।’
