प्रथम झापा कप : जितसँगै आर्मी क्वार्टरफाइनलमा

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

त्रिभुवन आर्मी क्लबले शनिबारदेखि सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगितामा मोरङको एलएक्स सिटी एफसीलाई ३–० ले पराजित गरेको छ । जितसँगै आर्मी क्वार्टरफाइनलमा पुग्यो । आर्मीका लागि जिलेस्पीजंग कार्की र दिशान्त राईले समान एक गोल गरे । खेलको २५औँ मिनेटमा कार्कीले मोरङका डिफेन्डर अगाडि बढेको अवस्थामा १–० का लागि गोल गरेका थिए । मैदानको मध्यभागमा एकल प्रयासमा उनले उत्कृष्ट फिनिसिङ गरेका हुन् ।

खेलको ८२औँ मिनेटमा आर्मीले २–० को अग्रता लियो । वैकल्पिक खेलाडी दिशान्त राईले नीरज घिसिङको पासमा गोल गरे । खेलको अन्तिम समयमा नीरज चौधरीको गोलमा आर्मी ३–० ले विजयी भयो । मोरङका डिफेन्डरको कमजोरीको फाइदा उठाउँदै चोधरीले गरेको प्रहार गोलरक्षक अरुन ब्लोनले बचाउन सकेनन् । खेलमा मोरङले खासै मुभ बनाउन सकेन । 

खेलको ४७औँ मिनेटमा अनमार्क रहेका दीपेश आलेमगरले विपक्षी पोस्टमा पाएको बल सदुपयोग गर्न नसक्दा बराबरी गर्ने अवसर गुमेको थियो । आयोजक झापा ११ र राष्ट्रिय जागृति क्लब इटहरीबिच आइतबार खेल हुनेछ । ८ पुससम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा नेपालका ९ र भारतको एउटा क्लबको सहभागिता रहेको छ । यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए । मुख्यमन्त्री कार्कीले डोमालाल राजवंशी रंगशालामा सुविधासम्पन्न बनाउने योजना प्रदेश सरकारको रहेको बताए । 

सुझावित समाचार