माओवादी सकियो भन्नेलाई जनताले जवाफ दिँदै छन् : प्रचण्ड

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि मुलुकमा नयाँ लडाइँ सुरु हुन लागेको बताएका छन्।

शनिबार रुपन्देहीमा आयोजित माओवादी केन्द्रमा जनमुक्ति पार्टीको अग्रगामी विचार समूह समाहित तथा बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीको नेतृत्वमा विगतमा भएका आन्दोलनबाट भएका परिवर्तनलाई नरुचाउनेहरू अधिकार खोस्ने पक्षमा रहेको जिकिर गरे।

उनले भने, ‘पछाडि पारिएका वर्गहरूको पक्षमा भएका परिवर्तनहरू प्रतिक्रियावादी, दलाल, बुर्जुवा, बिचौलियाहरूलाई पचिरहेको छैन। पछाडि पारिएका वर्गहरूका लागि अधिकारहरू धेरै भयो भन्ने उनीहरूलाई लागेको छ र उनीहरू अधिकार खोस्ने षड्यन्त्रमा छन्। तर, हामी त्यति मात्रै अधिकारले पुग्दैन, अझ बढी अधिकार चाहिन्छ भन्नेमा छौँ, यी नै विषयमा नयाँ लडाइँ सुरु हुँदै छ।’

मुलुक अझै पनि दलाल र नोकरशाही पुँजीवादबाट मुक्त हुन नसकेको भन्दै प्रचण्डले आफूहरू जनताको पक्षमा दृढतापूर्वक उभिने बताए। समाजवादी नयाँ आन्दोलनमार्फत परिवर्तन नचाहानेहरूलाई जवाफ दिइने उनको भनाइ छ। ‘माओवादी सकियो भन्नेलाई को सकिँदै छ, को शक्तिशाली बन्दै छ भन्ने जवाफ जनताको साथबाट समाजवादी आन्दोलनमार्फत देखाउनेछौँ,’ उनले भने।

तेस्रोपटक आफूले सत्ताको नेतृत्व लिएपछि भष्टाचारका विरुद्धमा महाअभियान थालेको स्मरण गर्दै उनले नेता तथा उच्च पदस्थ कर्मचारीहरूसमेत कारबाहीमा पर्न थालेपछि भूमाफियाविरुद्धको अभियानले उनीहरू रुष्ट बनेको प्रचण्डको दाबी थियो। मिटरब्याजपीडितको पक्षमा उभिएकोदेखि सामाजिक सुरक्षा कोषमार्फत युवाको हितमा काम थालेको पनि उनले स्मरण गरे। आफूले विगतमा सत्ताको नेतृत्व लिएपछि महत्त्वपूर्ण सडक आयोजनादेखि मुलुकलाई लोडसेसिडङमुक्त बनाउन महत्वत्वर्ण भूमिका खेलेको पनि दाबी गरे।

सरकारबाट बाहिरिएपछि कांग्रेस, एमालेबाट माओवादी प्रवेश गर्नेको लहर बढेको दाबी गर्दै प्रचण्डले भने, ‘जनताको बिचमा आएपछि माओवादीप्रति जनतामा नयाँ आशा र भरोसा पैदा भएको छ। उपनिर्वाचनको परिणामले पनि पूर्वबाट लहर आएको छ, राम्रो संकेत देखिएको छ। ०६४ सालको झल्को अहिले दिएको छ। ०८४ सम्म आइपुग्दा माओवादी देशको शक्तिशाली पार्टी बन्ने सन्देश आएको छ।’ 

सुझावित समाचार