नेपाल प्रिमियर लिगअन्तर्गत शनिबार भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोज् ३२ रनले विजयी भएको छ। चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमा अलआउट भएको जनकपुरले १४८ रन मात्र बनाउन सक्यो।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेटको क्षतिमा १८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ठुलाे स्काेर बनाएकाे चितवनका क्याप्टेन कुशल मल्लले ४१ बलमा सर्वाधिक ७२ रन जोडे। उनले तीन चौका र सात छक्का प्रहार गरेका थिए।
यसैगरी, रवि बोपरा र हसन इसाखिलले क्रमशः ४४ र २८ रनको योगदान गरे। सन्तोष कार्की १४ र बिपिन रावल तीन रन बनाएर पेभिलियन फर्किँदा अविजित रहेका सोहिल तनवीर र बसिल हमिदले क्रमशः पाँच र दुई रन जोडे।
जनकपुरका ललितनारायण राजवंशीले दुई तथा हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निसमले समान एक-एक विकेट लिए।
फराकिलाे लक्ष्य पाएकाे जनकपुरका लागि जेम्स निसमले अर्धशतक बनाए पनि टाेलीकाे जितका लागि पर्याप्त भएन। ओपनर आसिफ सेखले २३, शुभ कंसाकार १५ र मोहम्मद मोसिनले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
क्याप्टेन तथा ओपनर अनिल शाह मात्र आठ रन बनाएर पेभिलियन फर्कँदा लाहिरू मिलन्था एक, हर्ष थाकर ६, शेर मल्ल पाँच रन बनाएर आउट भए। किशोर महतोले अविजित चार रन जोड्दा अरनिको यादव र ललित राजवंशीले शून्य रनमै मैदान छाडे।
चितवनका लागि रिजन ढकाल, सोहेल तनवीर र कुशल मल्लले समान दुई विकेट लिँदा अमर रौतेलाले एक विकेट लिए।