कर्णालीको लगातार चौथो जित, अन्तिम खेलमा पनि हार्‍याे लुम्बिनी

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

लगातार चौथो जित निकाल्दै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ नजिक भएको छ । शुक्रबार लुम्बिनी लायन्सलाई पाँच रनले हराउँदै कर्णालीले प्लेअफ सम्भावना बढाएको हो । अब, अन्तिम खेलमा पोखराले सुदूरपश्चिमको सामना गर्नेछ ।  

पहिलो ब्याटिङ गरेको कर्णालीले १२९ रनको लक्ष्य दिएकाे थियो । प्रत्युत्तरमा लुम्बिनीले सात विकेट गुमाउँदै १२३ रन बनायो । लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि नाै रन चाहिएको थियो । बलिङमा आएका नन्दन यादवले जम्मा तीन रन दिए । क्रिजमा रहेका तिलक भण्डारी र रेमन सिमोन्ड्सले सफलता दिलाउन सकेनन् ।  

अन्तिम खेलमा लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाए ।  ३५ बलमा चार चौका र एक छक्का प्रहार गरेका मुर्सलाई नन्दन यादवले बोल्ड गरेका थिए । सन्दीप जोराले २४, ओपनरद्वय आशुतोष घिरैयाले १६ तथा अर्जुन साउदले १३, कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । आशा गरिएका बेन कटिङले १ रन मात्रै बनाए । 

कर्णालीका स्पिनर जिसन मक्सुदले दुई तथा कप्तान सोमपाल कामी, नन्दन, विपिन शर्मा, विलियम बासिस्टोले समान एक विकेट हात पारेका थिए । 

यसअघि विलियन बोसिस्टो र अर्जुन घर्तीको ७२ रन साझेदारीप्रेरित कर्णाली याक्सले १२८ रन बनायो । विलियमले  ३० बलमा समान तीन चौका र छक्कासहित सर्वाधिक ४४ रन बनाए । अर्जुनले २५ बलमा दुई चौका र एक छक्कासहित २५ रन जोडे । १०.१ ओभरमा चार विकेट गुमाउँदा ४७ रन बनाएको कर्णाली याक्सले पाँचौँ विकेट ११९ रन बनाउँदा १८.५ ओभरमा गुमाएको हो । ओपनर बाबर हायतले २०, चाडविक वाल्टनले १३ रनको योगदान गरे । 

लुम्बिनीका  लागि तिलक भण्डारीले दुई तथा साद विन जफर, विकास आग्री र रेमन सिमोन्ड्सले समान एक विकेट हात पारेका थिए । 

आज नै हुने दोस्रो खेलमा विराटनगर र चितवन प्रतिस्पर्धा गर्नेछन् ।
 

सुझावित समाचार