सिद्धार्थनगरमा एडिबीको तेस्रो योजना लागू

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

एक अर्ब १८ करोडको योजना निर्माण गर्न नगरपालिका र निर्माण व्यवसायीबिच सम्झौता  

एसियाली विकास बैँक (एडिबी), नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुने युआरएलआइपी योजनाअन्तर्गतका विभिन्न सहरी सडक निर्माणका लागि नगरपालिका र निर्माण व्यवसायीबिच सझौता भएको छ । 

एक अर्ब १८ करोड लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड भारतबिच सम्झौता भएको हो । सम्झौतापश्चात् कार्यादेश पाएको नौ सय दिनभित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नुपर्नेछ । योजनाअन्तर्गत नाला, फुटपाथ, सेफ्टी रेलिङ, खानेपानी, बिजुली, स्ट्रिटलाइट, सडक कालोपत्र, आरसिसी ढलान तथा नगर सुन्दरीकरणलगायत काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमदखानले जानकारी दिए ।  

यसअघि एडिबीका आइयुडिपी र आरयुडिपीका योजनाहरू सफतापूर्वक सम्पन्न गरेपश्चात् नगरपालिकाले तेस्रो चरणको योजना सुरु गरेको हो । अघिल्ला दुई योजनाको उत्कृष्ट व्यवस्थापन गरेबापत नगरपालिका पुरस्कृतसमेत भएको थियो । सिद्धार्थनगर नगरकी उपप्रमुख उमा अधिकारीले  ठेक्का प्रक्रिया छिटो भएर योजना लागू हुने चरणमा पुगेको बताइन् । 
युआरएलआइपी योजना रुपन्देहीका सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा लागू हुनेछ । त्यसमध्ये सिद्धार्थनगरमा ठेक्का सम्झौता भइसकेको छ भने अन्या पालिकाहरूमा अध्ययन भइरहेको छ । यो योजनाअन्तर्गत विभिन्न २७ वटा सडकतर्फ साढे २३ किलोमिटरभन्दा बढी लम्बाइको सडक निर्माण हुनेछ । सडकतर्फ खासगरी सुगरमिल, सुकुनीपथदेखि डन्डा करिडोर जाने सडक, भीमकालीपथ, दुर्गा कोलिनिका भित्री सडकहरू निर्माण हुनेछन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौतापश्चात् दुई महिनाभित्र योजना कार्यान्वयनको चरणमा जाने बताए । निर्माण कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडका प्रतिनिधि विक्रम गौतमले नगरको गौरवको योजना समयमै पूरा गर्ने प्रतिबद्धता जनाए । एडिबीको ऋण लगानीमा हुने यो योजनामा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट व्यहोरिने नगरपालिकाका योजना शाखाका इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।

See More On

सुझावित समाचार