युनलाई पुनः महाभियोग लगाउने तयारी

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले गत साता सैनिक शासन घोषणा गर्ने उनको निर्णयको बचाउ गरेका छन् । सैनिक शासन लागू भएपछि देशको संसद्मा सेना तैनाथ गरिएको थियो । दक्षिण कोरियाली नेतालाई डिसेम्बरको पहिलो साता भएको सैनिक कानुनको घोषणा गर्ने ‘नाटकीय राजनीतिक भूमिका’का सम्बन्धमा अनुसन्धानको एक भागको रूपमा विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ ।

युनको यस कदमले आमनागरिक मात्र होइन, धेरै राजनीतिज्ञलाई स्तब्ध पारेको थियो । यही कदमका कारण दक्षिण कोरिया अहिले वर्षौंपछि गहिरो राजनीतिक उथलपुथलमा फसेको छ । शनिबार युनविरुद्ध पुनः महाभियोगको प्रस्तावमाथि मतदान आयोजना गराउने तयारीबारे प्रतिक्रिया दिँदै युनले भने, ‘मैले अन्तिम क्षणसम्म दक्षिण कोरियाली जनताको पक्षमा लड्ने प्रतिबद्धता प्रकट गरेको छु ।’ 

महाभियोगको मतदान स्थानीय समयअनुसार आगामी शनिबार (डिसेम्बर १४) साँझ ५ः०० बजे हुनेछ । यसअघि राष्ट्रपतिविरुद्ध विपक्षी गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्ताव मतदानलाई सत्तारुढ पार्टीका करिब सबै सांसदले मतदान बहिष्कार गरेपछि प्रस्ताव विफल भएको थियो । महाभियोगको आवश्यक दुईतिहाइ बहुमत प्राप्त गर्न सत्तारुढ पिपुल्स पावर पार्टी (पिपिपी) का आठ सदस्यको समर्थन आवश्यक छ । 

प्रमुख विपक्षी डेमोक्य्राटिक पार्टीले राष्ट्रपतिका कर्मचारी र सुरक्षा निकायले कानुन कार्यान्वयनमा अवरोध पुर्याए थप कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । युनको कदमविरुद्ध दक्षिण कोरियाको राजधानी सियोलमा गत हप्तादेखि दैनिक प्रदर्शन भइरहेको छ । हजारौँ मानिस युनको राजीनामा मागिरहेका छन् । गत हप्ताको ‘सैनिक कानुन (मार्सल ल)’ घोषणामा उहाँको कथित भूमिकाका लागि युनका निकट सहयोगी गहन अनुसन्धानको भागिदार बनेका छन् । बिहीबार प्रहरीले सेनाको राजधानी रक्षा कमान्डको मुख्यालयमा छापा मारेको बताएको थियो । युनलाई सैनिक शासन लागू गर्न आग्रह गरेको आरोप लागेका पूर्वरक्षामन्त्री किम योङ ह्युनले मंगलबार जेलमै आत्महत्याको प्रयास गरेको बताइएको छ । किमलाई आइतबार हिरासतमा लिइएको थियो र पछि ‘विद्रोहको समयमा महत्वपूर्ण कर्तव्यमा संलग्न भएको’ र ‘नागरिक अधिकारको प्रयोगमा बाधा पुर्याउन पदीय अधिकारको दुरुपयोग गरेको’ आरोपमा औपचारिक रूपमा गिरफ्तार गरिएको थियो । 

पूर्वगृहमन्त्री र ‘मार्सल ल’ भूमिकाको जिम्मेवारी सम्हालेका जनरललाई पनि विदेश यात्रामा प्रतिबन्ध लगाइएको छ । दुईजना वरिष्ठ प्रहरी अधिकारीलाई पनि बुधबार बिहान पक्राउ गरिएको छ । पिपिपीले युनको प्रधानमन्त्री हान डक सो र पार्टी प्रमुख हानलाई सत्ता हस्तान्तरण गर्न सक्ने जनायो । तर, युनले विपक्षीले देशलाई ‘राष्ट्रिय संकट’मा धकेलेको आरोप लगाउँदै बिहीबार त्यस्तो सम्भावनाको खण्डन गरे । 
 

See More On

सुझावित समाचार