एउटै पाइपलाइनबाट डिजेल, पेट्रोल र मट्टीतेल आयात गर्ने पूर्वाधार तयार

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट मट्टीतेल आयातको सफल परीक्षण भएको छ । एउटै पाइपबाट पालैपालो तीनवटा पेट्रोलियम आयात गर्न मिल्ने गरी निर्माण भएको पाइपबाट २४ भदौ, ०७६ देखि नियमित रूपमा डिजेल आयात भइरहेको छ । निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा पूर्वाधार तयार गरी गत १८ असोजमा ५० लाख लिटर पेट्रोल आयात गरी भण्डारण गरिएको छ । बुधबार बिहान ११ः४५ देखि साढे पाँच बजेसम्म १० लाख लिटर मट्टीतेल आयात गरी सफल परीक्षण भएको छ ।

मधेश प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले एउटै पाइपबाट मिश्रणविनै तीनवटै पेट्रोलियम पालैपालो आयातको सफल परीक्षण भइसकेको बताए । ‘बुधबार दिउँसो १० लाख लिटर मट्टीतेल को परीक्षण आयात सफल भएको छ,’ उनले भने । पाइपलाइनबाट आएको डिजेल भण्डारण गर्न निगमले पहिलो चरणमा चार ठुला स्टोरेज बनाएको थियो । दोस्रो चरणमा डिजेलको थप दुईवटा र पेट्रोलको पनि दुईवटा स्टोरेज ट्यांक तयार गरेको छ ।

पाइपबाट तीनवटै पेट्रोलियम आयात गर्दा मिश्रण हुन सक्ने जोखिमलाई हटाउन अमलेखगन्जमा अढाई लाख लिटर क्षमताका दुईवटा ‘ट्रान्समिक्स ट्यांक’ बनाइएको छ । मिश्रण भएको पेट्रोलियम खन्याउने र शुद्ध पेट्रोल, डिजेल र मट्टीतेल सम्बन्धित स्टोरेज ट्यांकमा पठाउने व्यवस्था छ । तर, बुधबार दिउँसो डिजेलपछि मट्टीतेल पठाउँदा विनामिश्रण आएको आचार्यले बताए ।

सुझावित समाचार