इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवाँ तथा तुवाँलोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। अल्बोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधबार स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी वायुको गुणस्तर ‘अस्वस्थ’ स्तरमा पुगेको अर्थात् औसत वायु गुणस्तर सूचकांक (एक्युआई) १७० पुगेको बताएका छन्।
राजधानीमा केही विशिष्ट शाखाबाहेक सबै संग्रहालय र बैंकहरू बन्द गरिएको थियो। इरानको ४३५ मिटर अग्लो ऐतिहासिक मिलाद टावर बुधबार बिहान मुस्किलले देखिएको थियो।
प्रदूषणले मध्यइरानको इस्फाहान र उत्तरपश्चिमको ताब्रिजलगायत अन्य प्रमुख सहरहरूमा पनि प्रभाव पारिरहेको छ। दक्षिणपश्चिममा रहेको अहवाजमा पनि प्रदूषणको मात्रा उच्च रहेको सरकारी टेलिभिजनले जनाएको छ।
स्थानीय सञ्चारमाध्यमले केही औद्योगिक पूर्वाधारको जीर्ण अवस्था, पुरानो सवारीसाधन र गुणस्तरहीन पेट्रोलका कारण प्रदूषण बढेको बताएका छन्। हालैका हप्ताहरूमा, सरकारले केही पावर प्लान्टहरूमा प्रयोग हुने इन्धनलाई पनि योगदानको कारकको रूपमा हेरेको छ।
इरानका स्वास्थ्यमन्त्री मोहम्मद–रेजा जफरघान्डीका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष देशभर करिब ५० हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ।